नेपाल पत्रकार महासंघले आफ्नो गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन १३ विभाग गठन गरेको छ। महासंघको डेढ महिनाअघि धुलिखेलमा सम्पन्न बैठकले विभाग गठन गर्ने निर्णय गरेको थियो।
महासंघका केन्द्रीय सचिव रमेश खतिवडाका अनुसार महासंघका विभिन्न तहका १३ जना पदाधिकारीलाई सम्बन्धित विभागको संयोजक तोकिएको छ। महासंघका अध्यक्ष निर्मला शर्मालाई नीति, परामर्श तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक तोकिएको छ भने वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्द्धन विभागको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, उपाध्यक्ष नितु पण्डित महिला तथा कानुन विभाग, उपाध्यक्ष उमिदप्रसाद बागचन प्रकाशन तथा समावेशी विभाग, महासचिव रामप्रसाद दाहाल संगठन तथा समन्वय विभाग, सचिव रमेश खतिवडा पत्रकार आचारसंहिता अनुगमन तथा मानव अधिकार विभागको संयोजक तोकिएका छन्।
अन्य विभागीय संयोजकमा सचिव सोनी शर्मा (प्रशिक्षण विभाग), सचिव सविन प्रियासन (साना लगानीका मिडिया प्रवर्द्धन तथा आदिवासी जनजाति विभाग), सचिव अशोक तिवारी (मधेस तथा मोफसल मिडिया विभाग), सचिव प्रकाश धौलाकोटी (डिजिटल मिडिया तथा दलित विभाग), सचिव वैकुण्ठ पराजुली (विधागत तथा एसोसिएट समन्वय विभाग), कोषाध्यक्ष रामकृष्ण अधिकारी (आर्थिक स्रोत पहिचान तथा परिचालन विभाग) र लेखा समिति संयोजक केसी लामिछाने (आर्थिक अनुशासन तथा कार्य मूल्यांकन विभाग) रहेका छन्।
महासंघका सचिव खतिवडाका अनुसार यी विभागहरू मार्फत महासंघका नियमित गतिविधिलाई थप प्रभावकारी बनाइनेछ। साथै, महासंघले नयाँ सदस्यता र नवीकरण प्रक्रियालाई समेत सहज बनाउने योजना अघि सारेको छ।
सदस्यता नवीकरणमा हुने ढिलाइले निर्वाचन प्रक्रियामा समस्या आउने भएकाले कुनै पनि समयमा शाखाहरूमा सदस्यता आवेदन दिन सकिने तथा विधानअनुसार समयमै नवीकरण गर्नुपर्ने व्यवस्था लागू गरिने महासंघले जनाएको छ।
त्यसैगरी, महासंघले आफ्ना शाखाका सदस्यहरूको विवरण व्यवस्थित गर्न उनीहरूको फोटो, नाम, स्थायी ठेगाना, नागरिकता नम्बर, कार्यरत मिडिया, मोबाइल नम्बर, शैक्षिक योग्यता लगायतका विवरण शाखाको वेबसाइट वा फेसबुक पेजमा सार्वजनिक गर्न निर्देशन दिएको छ।
महासंघले गठन गरेका यी विभागहरूले नेपाली पत्रकारिताको प्रवर्द्धन, पत्रकारहरूको हकहित संरक्षण तथा प्रेस स्वतन्त्रताको रक्षा गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।