नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने उद्देश्यले विभाग सचिव पद छाडेको बताएका छन्।
पाण्डेले गत फागुन १८ गते बसेको एमाले केन्द्रीय सचिवालयको ४५औं बैठकबाट प्रचार विभाग सचिवमा मनोनयन भएपछि शपथ लिएका थिए। तर, उनी प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्षका रूपमा झन्डै १० वर्षदेखि सक्रिय रहँदै आएका छन्।
"म लामो समयदेखि प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छु। आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन चाहन्छु, त्यसैले दोहोरो जिम्मेवारीमा नरहने निर्णय गर्दै राजीनामा दिएको छु," पाण्डेले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्।
एमाले स्रोतका अनुसार पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि राजीनामा दिएका हुन्। ओलीले चौतारीको नेतृत्वमा पाण्डेलाई साथ दिने वचन दिएका कारण उनले प्रचार विभाग सचिव पद छाडेका हुन्।
यसैबीच, प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि राजेश राईले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल उपाध्यक्ष रहेका राई अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि अध्यक्ष पदका आकांक्षी थिए।
प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय सम्मेलन यही चैत १० गतेबाट विराटनगरमा सुरु हुँदैछ। पाण्डे र राई दुवै अध्यक्ष पदका लागि बलिया दावेदार मानिएकाले महाधिवेशन प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ।