"रक्तदान जीवनदान हो" भन्ने नारासहित पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ स्थित सोनवर्षा स्वास्थ्य चौकी प्राङ्गणमा निःशुल्क रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौली पर्साको आयोजनामा, गाउँपालिकाको सहयोग तथा वडा नं. १ को समन्वयमा सम्पन्न यस कार्यक्रममा २२ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए, जसमा दुई जना महिला पनि सहभागी थिए।
कार्यक्रमका प्रमुख अतिथि पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव रहनुभएको थियो। सोही अवसरमा वडा नं. १ का वडा अध्यक्ष फरमान मिया अन्सारीले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, "हाम्रो वडा र गाउँपालिकाका नागरिकहरू सामाजिक कार्यमा अग्रसर हुनु अत्यन्त सकारात्मक कुरा हो। रक्तदान भनेको केवल सहयोग मात्र होइन, यो एक सामाजिक उत्तरदायित्व पनि हो।"
स्वास्थ्य तथा सामाजिक सेवामा योगदान दिने उद्देश्यले आयोजित यस रक्तदान कार्यक्रममा सहज सेवा सीप विकास केन्द्रकी कार्यक्रम निर्देशक सुस्मिता कुमारी चौधरी, रक्त सञ्चार केन्द्र पर्सा, वीरगञ्जका प्राविधिक मनिस कुमार साह, समीर आलम, शनि कुमार यादव, मन्दीप पटेल तथा स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट शत्रुधन साह र प्रमिण महतोको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक मुना तिवारीले रक्तदान कार्यक्रममा युवाहरू तथा महिलाहरूको उल्लेखनीय सहभागिताले आफूहरूलाई अझ बढी प्रेरित बनाएको बताइन्। उनले भनिन्, "रक्तदान गर्नु भनेको सौभाग्यको कुरा हो, किनकि यसले कसैको जीवन बचाउन सक्छ।"
सहभागी अतिथिहरूले रक्तदानको महत्त्वबारे आफ्नो धारणा राख्दै समाजमा रक्तदानको संस्कार बसाल्न यस्ता अभियान आवश्यक रहेको उल्लेख गरे। स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले रक्तदान कार्यक्रमले जनचेतना अभिवृद्धि गर्ने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको यस रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजक संस्थाले जनाएको छ। आयोजकका अनुसार, रक्तदान अभियानले समाजमा रक्तदानको महत्त्वबारे जनचेतना फैलाउने र आकस्मिक रक्त अभावको समस्या समाधान गर्न मद्दत गर्ने विश्वास गरिएको छ।