वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनियमितता भएको भन्दै आठदलीय विद्यार्थी संगठनले पुनः मतदानको माग गरेका छन्। उनीहरूले नक्कली विद्यार्थीहरूको संलग्नतामा मतदान भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र युवा समूहका सभापति उम्मेदवार श्याम गुप्ताले ३ सयदेखि ४ सय विद्यार्थी नक्कली रहेको प्रमाणसहित उजुरी दिएको भए पनि प्रशासनले चासो नदेखाएको बताए। उनले विभिन्न निजी कलेज तथा सामुदायिक विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले समेत मतदान गरेको भन्दै निर्वाचन प्रक्रिया नै त्रुटिपूर्ण भएको आरोप लगाए।
छानबिनको माग, प्रशासन मौन
गुप्ताका अनुसार, क्याम्पसको शैक्षिक मर्यादा विपरीत नक्कली प्रमाणपत्रका आधारमा विद्यार्थी भर्ना गरी मतदान गराइएको छ, जुन कानुनी रूपमा गलत छ। यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पनि प्रशासनले कुनै चासो नलिएपछि बाध्य भएर पत्रकार सम्मेलनमार्फत अनियमितताको भण्डाफोर गर्नुपरेको उनको भनाइ छ।
"हामीले प्रमाणसहित उजुरी दिएका छौँ, तर प्रशासन मौन बसेको छ। स्ववियु निर्वाचनमा धाँधली गरी आफ्ना उम्मेदवार जिताउने खेल भइरहेको छ, जुन हामी हुन दिन्नौं। यदि प्रशासनले माग पूरा गरेन भने आन्दोलन गर्न बाध्य हुनेछौं," गुप्ताले भने।
मतदान प्रक्रियामा अनियमितता, निष्पक्ष चुनावको माग
पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका अनिष कुमार पटेलले वास्तविक विद्यार्थीले भोट हाल्न नपाएको तर नक्कली विद्यार्थीहरूले मतदान गरेको गम्भीर आरोप लगाए।
"हामीलाई सुरु देखिनै शंका लागेको थियो। मतदान बिहान ८ बजे सुरु हुनुपर्नेमा १० बजेदेखि मात्रै सुरु भयो। पत्रकारहरूलाई मतदान स्थलमा प्रवेश रोक लगाइयो, निर्वाचन प्रमुखले आफ्नो मोबाइल अफ गरे, मतपत्रसमेत सकियो। यी सबै गतिविधिले धाँधली भएको प्रमाणित गर्छ। यस्तो अवस्थामा मतगणना हुनै सक्दैन," पटेलले भने।
निष्पक्ष निर्वाचनको माग गर्दै आन्दोलनको चेतावनी
पत्रकार सम्मेलनमा सहभागी विद्यार्थी नेताहरूले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे। यदि माग पूरा नभए कानुनी प्रक्रियाबाट अगाडि बढ्ने र आवश्यक परे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका अनिष पटेल, समाजवादी विद्यार्थी युनियन नेपालका महम्मद सागिर अली, अनेरास्ववियुका पवन यादव, समाजवादी विद्यार्थी युनियनका हरिशंकर यादव, स्वतन्त्र युवा समूहका श्याम गुप्ता, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी युनियनका दीपेश कुमार साह, जय नेपाल विद्यार्थी संघका राजु गुप्ता, भोटफोरचेनका सन्तोष कुमार साह, राष्ट्रिय विद्यार्थी युनियनका मेघराज यादव लगायतको उपस्थिति रहेको थियो।