साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट देखिएको छ। नेप्से परिसूचक ५३.०४ अंक (१.९८ प्रतिशत) घटेर २६१६ अंकमा कायम भएको छ। बजार खुलेदेखि नै ओरालो लागेको र कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ। अघिल्लो दिन ४ अर्ब ५६ करोडको मात्र कारोबार भएकोमा आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको छ।
बजारमा देखिएको गिरावटसँगै अधिकांश कम्पनीहरूको सेयर मूल्य घटेको छ। कुल १३ कम्पनीको मूल्य बढ्दा २३० कम्पनीको मूल्यमा गिरावट आयो। नेप्सेका सबै प्रमुख उपसूचक राताम्मे देखिए। बैंकिङ समूह १.४७ प्रतिशत, विकास बैंक २.४२ प्रतिशत, फाइनान्स २.९९ प्रतिशत, होटल तथा पर्यटन २.२३ प्रतिशत, हाइड्रोपावर २.३३ प्रतिशत, लगानी समूह २.०५ प्रतिशत, जीवन बीमा १.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४६ प्रतिशत, माइक्रोफाइनान्स २.३६ प्रतिशत, निर्जीवन बीमा २.०७ प्रतिशत, अन्य समूह १.७४ प्रतिशत र व्यापार समूह २.८५ प्रतिशतले घटेका छन्।
यस दिन सबैभन्दा धेरै वृद्धि गर्ने कम्पनी कुथेली बुखरी स्मल हाइड्रोपावर रह्यो, जसको मूल्य ८.७ प्रतिशतले बढ्यो। त्यस्तै, डिवेन्चर समूहका सेयरहरू पनि केही वृद्धि भएका छन्। आईसीएफसी डिबेन्चर ८८ को ३.८९ प्रतिशत, एनआईसीए डिबेन्चर ८२८३ को २ प्रतिशत तथा एसबीडीबी ८७ को २ प्रतिशतले वृद्धि भयो।
तर, केही कम्पनीहरूले भने ठूलो गिरावट सामना गर्नुपर्यो। मिथिला लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो। सयपत्री हाइड्रोपावरको मूल्य ७.३४ प्रतिशत, उपकार लघुवित्तको ६.८७ प्रतिशत, अपरसोलु हाइड्रोको ६.८३ प्रतिशत र भूगोल इनर्जीको ६.८३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक अगाडि रहे। बजार विश्लेषकहरूका अनुसार, लगानीकर्तामा अन्योल बढ्दै जाँदा बजार ओरालो लागेको हो। उच्च ब्याजदर, तरलता अभाव, तथा लगानीकर्ताको मनोबल कमजोर हुँदै जानुका कारण बजारमा गिरावट आएको बताइएको छ। यदि सकारात्मक नीतिगत हस्तक्षेप भएन भने आगामी दिनमा पनि बजार दबाबमा रहने सम्भावना छ।