बारा र पर्सा जिल्लाका औद्योगिक क्षेत्र तथा स्थानीय उपभोक्ताहरूलाई भरपर्दो र पर्याप्त विद्युत् आपूर्ति गर्न उच्च क्षमताका तीन सबस्टेसन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बारा अमलेखगञ्ज, प्रसौनी र पर्साको वीरगञ्जमा १३२ केभी क्षमताका यी सबस्टेसन निर्माण सम्पन्न हुने क्रममा छन्।
विद्युत् आपूर्तिको समस्या समाधान गर्दै औद्योगिक उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित निर्माण भइरहेका यी सबस्टेसनहरूको कार्यान्वयनलाई तीव्रता दिइएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गर्दै निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। वीरगञ्ज क्षेत्रको औद्योगिक माग तथा भारतसँगको विद्युत् व्यापारलाई सहज बनाउन यी प्रसारण लाइन तथा सबस्टेसनहरू अत्यन्त महत्वपूर्ण हुने प्राधिकरणको भनाइ छ।
अमलेखगञ्ज सबस्टेसन: जेठ दोस्रो सातासम्म सञ्चालनमा
औद्योगिक करिडोरको विद्युत् आपूर्ति सुधार गर्ने उद्देश्यले निर्माण गरिएको अमलेखगञ्ज १३२/६६ केभी सबस्टेसन आगामी जेठ दोस्रो सातासम्म (मे २०२५) सञ्चालनमा ल्याइने भएको छ। यो सबस्टेसनमा अधिकांश उपकरण जडान भइसकेका छन्। पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगञ्ज सबस्टेसनमा लुप इन-लुप आउट गर्ने कार्य सम्पन्न भइसकेको छ।
त्यस्तै, हेटौंडाबाट सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा जडान गरिसकिएको छ। यसअघि लामो दूरीका कारण भोल्टेजको समस्या झेल्दै आएको उक्त करिडोरमा अब सुधार हुने प्राधिकरणले जनाएको छ। अमलेखगञ्ज सबस्टेसनमा १३२/६६ केभी २०० एमभीए र ६६/११ केभी २० एमभीए क्षमताका पावर ट्रान्सफर्मर तथा स्थानीय आपूर्तिका लागि ११ केभीका ६ वटा फिडर जडान गरिएको छ।
प्रसौनी र वीरगञ्ज सबस्टेसन: भूमिगत प्रसारण लाइन निर्माण तीव्र
प्रसौनी र वीरगञ्ज सबस्टेसनलाई जोड्ने २.८ किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण तीव्र गतिमा भइरहेको छ, जुन एक महिनाभित्र पूरा गरिने योजना छ। भारतको रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनलाई प्रसौनी सबस्टेसनमा लुप इन–लुप आउट गर्ने तयारी गरिएको छ।
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप सुदृढ गर्न ६६/३३/११ केभी क्षमतामा रहेको वीरगञ्ज सबस्टेसनलाई १३२ केभीमा विस्तार गर्न लागिएको हो। सबस्टेसन निर्माण कार्य सम्पन्न भएपछि १३२ केभी र ६६ केभीको अन्तरआबद्ध विद्युत् आपूर्ति प्रणाली कायम हुनेछ, जसले औद्योगिक करिडोरको विद्युत् सेवा थप भरपर्दो बनाउनेछ।
औद्योगिक क्षेत्रमा विद्युत् पूर्वाधार विस्तार
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनी लगायत क्षेत्रका उद्योगहरूले १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति पाउनेछन्। औद्योगिक मागलाई मध्यनजर गर्दै परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन र पोखरिया सबस्टेसन निर्माणको काम अघि बढाइएको छ।
यसैगरी, हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बारा निजगढमा ४०० केभी क्षमताको सबस्टेसन निर्माण गरी उक्त लाइन रमौली हुँदै पोखरियासम्म पुर्याउने योजना बनाइएको छ। प्रस्तावित ४०० केभी प्रसारण लाइनको लम्बाइ ६५ किलोमिटर हुनेछ भने निजगढ, रमौली र पोखरियामा गरी तीनवटा सबस्टेसन स्थापना गरिनेछ।
नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रलाई पर्याप्त र भरपर्दो विद्युत् आपूर्ति दिन उच्च क्षमताका प्रसारण लाइन तथा वितरण प्रणाली विस्तारलाई प्राथमिकता दिएको छ। यी सबस्टेसनहरू सञ्चालनमा आएपछि बारा–पर्सा औद्योगिक करिडोरको ऊर्जा आपूर्ति सुनिश्चित हुने तथा औद्योगिक उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।