गत साता नेप्से परिसूचक १२८४ दशमलव ५९ विन्दुमा खुलेको थियो भने १२८९ दशमलव ५४ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो । ‘इन्ट्राडे’ न्यून विन्दु १२६४ दशमलव ४६ थियो भने बजार १२६९ दशमलव ५५ विन्दुमा बन्द भएको थियो ।
यो अघिल्लो साताभन्दा १ दशमलव १६ प्रतिशतको गिरावट हो । यो साता चार कारोबार दिनमा २ अर्ब ५ करोड ४ लाख बराबर रकमको शेयर कारोबार भएको छ ।
प्राविधिक विश्लेषण
चित्र नं १ ः साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगत १० महिनादेखि बजारको उतारचढाव कस्तो रह्यो भनि हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीलाई प्रयोग गरिएको छ । अघिल्लो साताको विश्लेषणको निष्कर्ष अनुसार बजार केही सच्चिन सक्ने सम्भावनालाई नकार्न सकिन्न र तत्कालीन टेवा १२७० मा रहेको भनिएको थियो । यो साता बजार केही सच्चिएको र नेप्से परिसूचक १२७० भन्दा तल रहेपनि चित्र नं. १ मा देखिए बमोजिम बजार हाल पनि टेवा क्षेत्रमा रहेको देखिन्छ ।
तर, बजार सकारात्मक भइहाल्ने संकेत भने देखिएको छैन । चित्रमा देखिए बमोजिम यो साताको मैनबत्ती आकृतिले पनि बजारमा विक्रेताको चाप रहेको संकेत गरेको तर हाल बजार टेवा क्षेत्रमा रहेकाले खरिदकर्ताहरु बजारमा प्रवेश गर्ने सम्भावनालाई नकार्न सकिन्न । २०० एक्पोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा बजारको प्रवृत्ति माथि नै रहेकाले हालसम्म बजार सकारात्मक क्षेत्रमा नै रहेको संकेत गर्दछ ।
चित्र नं.२ ; दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दैनिक मैनबत्ती प्रवृत्तिले गत १ महिनादेखि नेप्से प्रवृत्तिहीन रहेकोमा हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ । गत साता १४ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्से प्रवृत्ति तल रहेको थियो र बजार घट्न सक्ने संकेत गरेवापत यो साता पनि बजार घट्दो प्रवृत्तिमा नै रहेको देखिन्छ ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ३९ दशमलव ८७ अंकमा रहेको छ । यसको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ । यो साता चार दिनको मैनबत्तीलाई समग्रमा हेर्ने हो भने क्रेताभन्दा विक्रेता हाबी रहेको देखिएको छ । परिमाणले विक्रेताको चाप केही कमजोर हुन थालेको संकेत गरेको छ ।
हालसम्म नेप्से प्रवृत्ति र सूचकका आधारमा २ सातादेखि बजार घट्दो प्रवृत्तिमा रहे पनि विक्रेताको चाप कम हुँदै गएको देखिन्छ ।
तर, बजार सकारात्मक भइहाल्ने बलियो संकेत भने दिएको देखिँदैन । यस्तो अवस्थामा बजारबाट हुन सक्ने जोखिम कम गर्नलाई बजारको प्रवृत्ति र सूचकहरुको सकारात्मक संकेत कुर्नु पर्ने देखिएकाले हाल ‘पर्ख र हेर’ को रणनीति अपनाउन उपयुक्त देखिन्छ ।
यदि बजार १२७५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने र अर्को तत्कालीन मुख्य प्रतिरोध १३०० को क्षेत्रमा रहेको देखिन्छ । त्यस्तै, तत्कालीन टेवा १२५० देखि १२६० को क्षेत्रमा रहेको देखिन्छ ।