वीरगञ्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। यसअघि बरिष्ठ उपाध्यक्ष रहेका हरि गौतम संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्। आईतबार सम्पन्न निर्वाचन प्रक्रियामा अधिकांश पदाधिकारी सर्वसम्मत चयन भए पनि सहसचिव पदका लागि भने मतदान भएको थियो।
संघको बरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजी प्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा, सचिवहरूमा प्रेमचन्द्र गोयल र सुशान्त चाचान तथा सह–कोषाध्यक्षमा निरज अग्रवाल निर्विरोध चयन भएका छन्।
सहसचिवमा अनुप अग्रवाल निर्वाचित
संघको सहसचिव पदमा दुई उम्मेदवार रहेकाले मतदान गर्नुपरेको थियो। सहसचिवका लागि अनुप अग्रवाल र प्रभात रुंगटाबीच प्रतिस्पर्धा भएको थियो। प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलका अनुसार अनुप अग्रवाल १९ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी प्रभात रुंगटाले १६ मत पाए।
अध्यक्ष गौतमको प्रतिबद्धता
निर्वाचित भएपछि अध्यक्ष हरि गौतमले सम्पूर्ण पदाधिकारी, सदस्य तथा मतदातालाई धन्यवाद ज्ञापन गर्दै उद्योगी व्यवसायीहरूको हकहितका लागि दृढ प्रतिबद्धता व्यक्त गरे। उनले संघलाई अझ प्रभावकारी बनाउन सबैलाई समेटेर अघि बढ्ने बताएका छन्।
संघको संरचना
संघको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ। निवर्तमान अध्यक्ष स्वतः पदाधिकारीको रूपमा रहने प्रावधान छ भने तृतीय उपाध्यक्ष अर्थात् रोजगारदाता समितिको संयोजक पदका लागि नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्नेछ।
वीरगञ्ज उद्योग वाणिज्य संघमा सहमतिमै नेतृत्व चयन गर्ने परम्परा रहेको छ। केही पदमा सहमति हुन नसके मात्र मतदान गरिने परिपाटीअनुसार यस पटक पनि सहसचिव पदका लागि मात्रै मतदान भएको हो।