इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले इण्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमै सबैभन्दा महँगो बलिङ फिगर दर्ता गरेका छन्। राजस्थान रोयल्सका लागि खेलेका आर्चरले ४ ओभरमा ७६ रन खर्चिँदै कुनै पनि विकेट लिन सकेनन्।
आइतबार सनराइजर्स हैदराबादविरुद्ध भएको उच्च स्कोरिङ खेलमा राजस्थान रोयल्स ४४ रनले पराजित भयो। यो हारसँगै आर्चरले मोहित शर्माको कीर्तिमान तोड्दै आईपीएलमा सबैभन्दा महँगो बलिङ फिगर बनाएका हुन्। मोहितले २०२४ मा गुजरात टाइटन्सबाट खेल्दै ४ ओभरमा ७३ रन खर्चिएका थिए।
आईपीएलमा सनराइजर्सको ऐतिहासिक ब्याटिङ
हैदराबादको ब्याटिङ निकै विस्फोटक रह्यो। उनीहरूले २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनाए, जुन आईपीएल इतिहासकै दोस्रो उच्च स्कोर हो। आईपीएलमा सर्वाधिक स्कोरको कीर्तिमान पनि सनराइजर्सकै नाममा छ, जुन टोलीले २०२४ मा रोयल च्यालेन्जर्स बेङ्गलुरुविरुद्ध २८७ रन बनाएको थियो।
भारतका इशान किशनले केवल ४७ बलमा १०६ रन बनाउँदै नटआउट रहे। उनको इनिङ्समा ११ चौका र ६ छक्का सामेल थियो। अष्ट्रेलियाका ट्राभिस हेडले पनि ३१ बलमा ६७ रन बनाएर आक्रमक सुरुवात दिलाए। पावरप्लेमै ९४/१ रन बनाएको हैदराबादले १५ औं ओभरमा २०० रन पार गरिसकेको थियो।
दक्षिण अफ्रिकाका हेनरिच क्लासेनले पनि अन्त्यतिर १४ बलमा ३४ रन जोड्दै इशानलाई राम्रो साथ दिए।
राजस्थानको संघर्षपूर्ण प्रयास
लक्ष्य विशाल थियो, तर राजस्थान रोयल्सका लागि कप्तान सञ्जु सामसन (६६ रन, ३७ बल) र ध्रुव जुरेल (७० रन, ३५ बल) को चौथो विकेटका लागि १११ रनको साझेदारीले केही आशा जगायो। तर, दुवै ब्याट्सम्यान छोटो अन्तरालमै आउट भएपछि राजस्थानको जितको सम्भावना टुङ्गियो। अन्ततः टोलीले २० ओभरमा ६ विकेट गुमाएर २४२ रन मात्र बनाउन सक्यो।
सनराइजर्सका बलरहरूमध्ये हरशल पटेलले २ विकेट लिँदै ३४ रन खर्चिए। यस्तै, कप्तान प्याट कमिन्स भने महँगो सावित भए, उनले ४ ओभरमा ६० रन खर्चिएर विकेटविहीन रहे।
आईपीएल इतिहासका महँगो बलिङ फिगरहरू
जोफ्रा आर्चर (०-७६) - राजस्थान रोयल्स-सनराइजर्स हैदराबाद, २०२५
मोहित शर्मा (०-७३) - गुजरात टाइटन्स-दिल्ली क्यापिटल्स, २०२४
बेसिल थम्पी (०-७०) - सनराइजर्स हैदराबाद-रोयल च्यालेन्जर्स बेङ्गलुरु, २०१८
यश दयाल (०-६९) - गुजरात टाइटन्स-कोलकाता नाइट राइडर्स, २०२३
रिस टोप्ले (१-६८) - रोयल च्यालेन्जर्स बेङ्गलुरु-सनराइजर्स हैदराबाद, २०२४
अन्य खेल परिणाम
त्यसै दिन भएको अर्को खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गर्यो। कीवी खेलाडी रचिन रविन्द्रले अविजित ६५ रन बनाउँदै चेन्नईलाई जित दिलाए।
आईपीएल २०२४ को फाइनलमा पुगेको सनराइजर्सलाई कोलकाता नाइट राइडर्सले हराएको थियो। कोलकाताले यस सिजनको पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग गुमाएको थियो।