घोराही उपमहानगरपालिका–९, खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी भएको छ। विद्युत् सर्टका कारण लागेको आगोले उद्योगलाई पूर्ण रूपमा क्षति पुर्याएको छ भने करोडौँ रुपैयाँ बराबरको नोक्सान भएको अनुमान गरिएको छ।
आगलागीले ३० भन्दा बढी घर जोखिममा
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाह का अनुसार उद्योग रहेको आठ बिघा क्षेत्रफल पूर्ण रूपमा आगोको चपेटामा परेको छ। आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर उच्च जोखिममा परेका छन्। ती घरका सामानहरू बाहिर सार्ने कार्य भइरहेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
राति २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेन
आगलागी गएराति २ बजेदेखि सुरु भए पनि अझैसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। उद्योगभित्र रहेको काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेशिन लगायतका सामग्री जलेर नष्ट भएका छन्।
दमकल र सुरक्षाकर्मी परिचालन
आगलागी नियन्त्रण गर्नका लागि घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तु बाट ल्याइएका दमकलहरू परिचालन गरिएको छ। साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी आगो निभाउने कार्यमा जुटेका छन्।
आगो नियन्त्रणमा लिन अझै केही समय लाग्ने अनुमान गरिएको छ। सुरक्षा निकायले स्थानीयलाई सुरक्षित रहन आग्रह गर्दै आगलागीको थप विवरण संकलन गरिरहेको छ।