नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा डिस्प्ले भएको घटना विवादित बनेको छ।
यसै दिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय सार्वजनिक भएको थियो, जसले थप शंका उब्जाएको छ।
अनुसन्धान जारी
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ का अनुसार यो घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। ‘यस्तो कसरी भयो भनेर सूचना प्रविधि विज्ञहरुसँग समेत सम्पर्क गरेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने।
सूचना प्रविधि प्रणालीका स्रोतका अनुसार डिजिटल बोर्डमा के प्रदर्शन गर्ने वा नगर्ने भन्ने अधिकार कार्यालय प्रमुखसँग हुन्छ। श्रेष्ठका अनुसार बोर्डको पहुँच उनसँगै अर्का एक इन्जिनियरसँग मात्र थियो, तर प्रधानमन्त्रीविरुद्धको नारा कसरी देखियो भन्ने अझै पत्ता लागेको छैन।
"त्यहाँ पासवर्ड डिफल्ट थियो, कसैले यसको मिसयुज गर्यो कि, ह्याक भयो कि, के भयो, अझै थाहा पाउन सकेका छैनौं," श्रेष्ठले भने।
कुलमानको आगमन संयोग मात्र कि योजना?
घटनासँग अर्को रोचक संयोग जोडिएको छ— सोही दिन कुलमान घिसिङ चितवन हुँदै मकवानपुरको चेपाङ बस्तीमा बिजुली उद्घाटन गर्न गएका थिए। भरतपुर विमानस्थलमा उनलाई स्वागत गर्न भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठ आफैं पुगेका थिए।
विमानस्थलबाट कार्यालय फर्किएपछि दिउँसो १२ देखि १ बजेसम्म बोर्डमा प्रधानमन्त्रीविरुद्धको नारा देखियो। कार्यालयका कर्मचारी र सेवाग्राहीहरूले उक्त सन्देश देखेपछि मात्रै श्रेष्ठले हटाएका थिए।
श्रेष्ठले आफूले कुनै राजनीतिक सन्देश नराखेको दाबी गर्दै बोर्ड ह्याक भएको वा कसैले नियोजित रूपमा प्रयोग गरेको हुन सक्ने बताएका छन्। ‘मैले त्यस्तो गर्ने कुरै आउँदैन, कतैबाट त्यस्तो सूचना आएको देखिन्छ, यो राम्रो संकेत होइन,’ उनले थपे।