वीरगन्ज महानगरपालिकाले नयाँ वर्ष २०८२ को स्वागतलाई विशेष बनाउन ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको छ। चैत २९ देखि ३१ गतेसम्म तीन दिन सञ्चालन हुने यो बजारले वीरगन्जको अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै अबेरसम्म व्यापार–व्यवसाय सञ्चालनको संस्कृति विकास गर्ने महानगरले जनाएको छ।
बजारको विशेषता र व्यवस्थापन
रात्रि बजार आदर्शनगर चोकदेखि पुरानो बसपार्क क्षेत्रसम्म सञ्चालन हुनेछ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह का अनुसार बजारमा सयभन्दा बढी स्टल रहनेछन्, जसमा खानाका परिकार, लत्ताकपडा, कस्मेटिक्स, भाँडाकुडा लगायतका सामाग्री बिक्री गरिनेछ।
संघसंस्थासँग सहकार्य
महानगरले यो आयोजनालाई व्यवस्थित बनाउन विभिन्न संघसंस्थासँग सहकार्य गर्ने भएको छ। ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगन्ज साइकलिङ क्लब, वुमेन्स क्रिएसन र फोरजीआर जस्ता संस्थाहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिने मेयर सिंहले जानकारी दिए।
व्यवसायीहरूका लागि अवसर
व्यापारी तथा स्थानीय व्यवसायीका लागि यो बजार अतिरिक्त व्यापारिक अवसर बन्ने विश्वास लिइएको छ। स्टलहरूका लागि छिट्टै बुकिङ प्रक्रिया खुला गरिने ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए।
यसअघि पनि महानगरले यस्ता बजार सञ्चालन गर्दै आएको थियो, जसले स्थानीय व्यापार प्रवर्द्धनका साथै रात्रीकालीन बजार संस्कृतिलाई टेवा दिएको अनुभव छ। यसपटक पनि यो कार्यक्रम व्यापारी, उपभोक्ता र महानगरका लागि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।