वीरगञ्जको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल श्री गहवा माई मन्दिरको दोस्रो डोली यात्रा आउँदो चैत्र २३ गते शनिबार आयोजना गरिने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा माईस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाह ले यस वर्ष चैते दशैंको अष्टमीको दिन डोली यात्रा निकालिने जानकारी दिएका छन्।
डोली यात्रा दिउँसो ४ बजे गहवा माई मन्दिरको प्राङ्गणबाट निशानसहित सुरू हुनेछ। यात्रा रोड नम्बर २ हुँदै विर्ता माई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, माईस्थान चोक परिक्रमा गरी पुनः गहवा माई मन्दिर प्राङ्गणमा समापन गरिनेछ।
विशेष पूजा र आरती कार्यक्रम
डोली यात्रा अघि दिउँसो २ बजे डोली तथा निशानको विशेष पूजा गरिनेछ भने साँझ ६:३० बजे आरती कार्यक्रमको आयोजना गरिनेछ। गत वर्ष पहिलो डोली यात्राको सफलतापछि यस वर्ष पनि भव्य रूपमा यात्रा निकाल्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
निशान वितरण र सहयोग संकलन
गत वर्ष विभिन्न भक्तजन तथा दाताहरूको सहयोगमा ६५० वटा गहवा माई अङ्कित निशान वितरण गरिएको थियो भने यस वर्ष १,००० निशान वितरण गर्ने योजना रहेको छ। प्रति निशान ३५० रुपैयाँ सहयोग राशी राखिएको छ, जसबाट डोली यात्राको व्यवस्थापन र धार्मिक गतिविधिहरूलाई सहयोग गरिनेछ।
सम्पूर्ण भक्तजनलाई सहभागिताको आह्वान
पत्रकार सम्मेलनमा उपस्थित महासचिव विजय कुमार उपाध्याय, सचिव तथा प्रचारप्रसार समितिका कन्हैया लाल केशरी लगायतका पदाधिकारीहरूले यस धार्मिक यात्रामा सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहभागिताको निम्ति आह्वान गरेका छन्। आयोजक समितिले गत वर्षझैं यस वर्ष पनि श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरेको छ।