नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा मंगलबार बिहान उत्पन्न तनाव कार्यलय प्रमुखमाथि हातपात र तोडफोडसम्म पुगेको छ। ३५/४० जनाको समूह कार्यालय प्रवेश गरी प्रमुख रामु श्रेष्ठलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड गरेको छ।
प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक सूचना अपलोड
विवादको सुरुवात कार्यालयको डिजिटल सूचना बोर्ड ह्याक भई प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अपशब्द अपलोड भएपछि भएको हो। राज्यको गरिमा र कानुनी मर्यादा विपरीत यो कार्यको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले घोर भर्त्सना गरेको छ।
युवा संघको आक्रमण, कार्यकक्षमा तोडफोड
यस घटनालाई लिएर नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ता ज्ञापनपत्र बुझाउन पुगेका थिए। तर, कार्यालय प्रमुख श्रेष्ठसँग भनाभनपछि उनीहरू आक्रोशित भएका थिए। श्रेष्ठले गलत व्यवहार गरेको आरोप लगाउँदै युवा संघका कार्यकर्ताले हातपात र कार्यकक्षमा तोडफोड गरेका थिए।
युवा संघ चितवनका इन्चार्ज शंकर अधिकारीका अनुसार, सूचना ह्याक गर्ने योजनामा नै कार्यालय प्रमुख श्रेष्ठको संलग्नता रहेको दाबी गरिएको छ।
प्रशासनको हस्तक्षेप, तालाबन्दी खोलियो
घटनापछि युवा संघले कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएको थियो। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल आफैं घटनास्थलमा पुगेर ताला फुटाउने निर्णय गरेका थिए। उनले कार्यालय प्रमुख श्रेष्ठलाई घटनाका बारेमा आधिकारिक विवरण प्रहरीलाई लेखेर दिन निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारीद्वारा स्पष्टीकरण माग
प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक सूचना सार्वजनिक भएको विषयलाई लिएर प्रजिअ पौडेलले वितरण केन्द्र प्रमुख श्रेष्ठसँग २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका छन्। सरकारी कार्यालयको डिजिटल बोर्डमा कसरी यस्तो सूचना आयो भन्नेबारे विस्तृत जानकारी मागिएको छ।
प्रजिअ पौडेलले घटनाको सत्यतथ्य छानबिन गरिने र गृह तथा ऊर्जा मन्त्रालयलाई जानकारी पठाइने बताएका छन्।