चेन्नईको चेपक रंगशाला आईपीएलमा ब्याटिङ गर्न सहज मैदान होइन, विशेषगरी विराट कोहलीका लागि। उनले यस मैदानमा खेलेका १३ खेलमा जम्मा ३८३ रन बनाएका छन्, जुन औसत २९.४६ मात्र रहेको छ। अझ महत्वपूर्ण पक्ष भनेको उनको स्ट्राइक रेट हो, जुन मात्र १११.०१ छ। यसले कोहली र उनको टिम रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) का लागि यो मैदान कठिन सावित हुने संकेत गर्छ, किनकि यहाँको पिचले स्पिन बलरहरूलाई सहयोग गर्छ।
तर पछिल्लो सिजनमा कोहलीले स्पिन बलिङविरुद्ध आफ्नो कमजोरीलाई सुधार गर्दै जोखिमपूर्ण प्रहारहरू गर्न थालेका थिए। विशेष गरी स्लग स्वीप प्रहारको प्रयोग गर्दै उनले राम्रो प्रदर्शन गरे। चेन्नईविरुद्धको निर्णायक खेलमा उनले २९ बलमा ४७ रन बनाएका थिए, जुन उनको सुधारिएको स्पिन सामना गर्ने क्षमताको प्रमाण थियो। २०२४ को आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका कोहलीले स्पिन बलिङविरुद्ध स्ट्राइक रेट १३७.०८ पुर्याउँदै तीन वर्षअघि भन्दा दोब्बर बढी बाउन्ड्री प्रहार गरे।
यस वर्ष भने कोहलीलाई चेन्नईको चेपकमा अझै ठूलो परीक्षा दिनुपर्नेछ। जहाँ उनी भारतीय अनुभवी स्पिनरहरू रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा र अफगानी स्पिनर नूर अहमदविरुद्ध उत्रनेछन्। आरसीबीका ब्याटिङ प्रशिक्षक तथा परामर्शदाता दिनेश कार्तिकका अनुसार कोहली अहिले आफ्नो करियरकै उत्कृष्ट लयमा छन्।
"उहाँले हालैका वर्षहरूमा विशेषगरी सेतो बलको क्रिकेटमा स्पिन बलिङविरुद्ध राम्रो प्रदर्शन गर्नुभएको छ," कार्तिकले भने। "म तथ्यांकमा धेरै ध्यान दिन्न, तर विश्वकप फाइनलमा उहाँले आवश्यक रन बनाउनु भयो। च्याम्पियन्स ट्रफीमा पनि उत्कृष्ट प्रदर्शन गर्नुभयो। उहाँको खेल राम्रो छ, र अहिले उहाँजस्तो आत्मविश्वासका साथ कहिल्यै खेलेका थिएनन्।"
यस सिजनको पहिलो खेलमा कोलकाताको सहज पिचमा कोहलीले २४ रन बनाउँदा स्पिनविरुद्ध आक्रामक देखिए। उनले पाँच बलमा एकपटक स्वीप प्रहार गर्ने कोसिस गरे। तर उनले सन् २०१६ पछि आईपीएलमा रिभर्स स्वीप खेलेका छैनन्, यद्यपि कार्तिकले कोहलीले सुधार गर्न खोजिरहेको शट त्यही हो वा होइन भन्ने खुलाइएको छैन।
उता, चेन्नई सुपर किंग्स (सीएसके) ले घरेलु मैदानमा आफ्नो अनुकूल पिचको फाइदा लिन खोजिरहेको छ। मुख्य प्रशिक्षक स्टेफन फ्लेमिङले पिच कुनै पनि प्रकारको भए पनि टिम तयार रहेको बताए। "यदि बल घुम्छ भने राम्रो, तर हामी कुनै पनि अवस्थासँग जुध्न तयार छौं," फ्लेमिङले भने।
चेन्नईको चेपक मैदानमा कोहलीको परीक्षा कत्तिको सफल हुने हो, त्यो खेलपछि मात्र स्पष्ट हुनेछ।