विद्यालय आउन सुरु गरेका साना बालबालिकाहरुलाई विद्यालय समयमा भोक लागेर कक्षा छोड्न नपरोस् भनी केन्द्र ( संघ ) सरकारले ल्याएको विद्यालयको दिवाखाजा कार्यक्रम उद्देश्यतः गलत छैन । उनीहरु विद्यालय आउन अनिच्छुक नहुन् भन्ने प्रमुख लक्ष्य अनुरुप कार्यसम्पादन चाही चुश्त हुनु आवश्यक छ । बालबालिकाको राम्रो सिकाइबाट भोलीको देशको भविष्य समेत उज्वल पारुन् भन्ने अभिभावक र देशको सोचाइ हुनु राम्रो हो र हुनु पनि पर्छ ।
यसै लक्ष्यका लागि केन्द्र सरकारले ल्याएको यो कार्यक्रम अन्तर्गत देशका १३ लाख ५४ हजार विद्यार्थीका लागि विनियोजन भएको ४ करोड २८ लाख रकम माथि विद्यालयका प्रअ र शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको समेत कतै गिद्धेदृष्टि परेको उदाहरणहरु सार्वजनिक भएका छन् । महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनबाट पनि त्यो कुरा सार्वजनिक भएको छ । बाँकी कागज मिलान गरी केही पथभ्रष्टहरुले गर्ने दमपचको त हिसाब किताब नै छैन ।
बालबालिकाहरुको हितको लागि केन्द्र सरकारले ल्याएको यत्रो रकममा भारी अनियमितता हुँदा स्थानीय स्तरमा जनमुखी काम गर्ने भन्नेहरु पनि चुँ नबोल्नु आश्चर्यको कुरा हो । सरकारले के उद्देश्यले के काम गर्दैछ ? भन्ने स्थानीय तहका सरकार संचालकहरुलाई थाहा भएन भने त्यसले अझ गलत अर्थ लाग्न सक्छ । अझ हरेक स्थानीय तहमा बनेका स्थानीय सरकारमा रहेका जनप्रतिनीधि र यो कार्यक्रम लागु भएको विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका मानिस समेतले बालबालिकाहरुको खाजाका लागि भनेर छुट्याएको यो रकममा मुन्टो घुसार्ने प्रयास हुनु कुनै अर्थमा पनि युक्तिसंगत छैन ।
४० जिल्लाका सामुदायिक विद्यालयहरुका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यो कार्यक्रम लागु गरेकोमा पर्सा जिल्ला पनि समेटिएको छ । यो मानेमा पनि यो जिल्लाका ठूला भाषणमा रमाउन चाहनेहरुले अब जिल्लाको तथ्याँकीय अवस्थामा सुधार ल्याउन र अरु जिल्लाको तुलनामा पर्सा जिल्ला पनि अब्बल छ भन्ने सन्देश दिन अब चुक्नु हुन्न ।
बच्चाको खाजा खर्च खाने पथभ्रष्ट भएको जिल्ला भनी यो जिल्ला पनि मुछिएको छ । यसबाट छुटकारा पाउन अब सबैले सचेत हुन जरुरी छ । दलित, आदिवासी, मुस्लिम, मधेशी समुदायका बालबालिकाहरु विद्यालयमा हाजिर भएका दिन हाँजिरी हेरी हरेक दिन मात्र १५ रुपैयाका दरले हुन आउने रकममा पनि ¥याल चुहाउनु कुनै अर्थमा युक्तिसंगत मान्न सकिदैन । बडेमामा पुल, सडक, बाटो, भवन लगायत त पथभ्रष्टहरुले चपाएकै छन् । जाबो बालबालिकाको खाजाखर्च वापतको रकममा पनि ¥याल चुहाउनु गम्भिर लाछीपना हो । अब यस्तो रकम क–कस्ले खाएका छन् त्यो खोज्ने समयमा आएको छ ।
बच्चाको खाजाको पैसा पनि बाँकी नराख्नेले अरु रकम पाए भने के गर्लान् ? यस्ता जनप्रतिनीधि र शिक्षक, प्रअ र विद्यालय जनप्रतिनीधिहरुसँग मानवीय समवेदना पनि रहेन छ भन्ने प्रष्ट हुन्छ । त्यसैले पनि यस्ता गम्भिर र संवेदनशिल कुरामा समाज भित्रका हरेकले सचेत हुन पर्छ । अनि पहिले गलत गर्ने हरुलाई पनि खोजी गरी कानूनी कार्वाही गर्न पनि सबैले साथ दिन पर्छ ।