राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा अनावश्यक रूपमा लम्ब्याइएको भन्दै कडा असन्तुष्टि जनाएका छन्। मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई आरोप लगाउँदै भने, ‘सरकार छोपिएको छ, छोपिएको छ भनिरहेको छ, तर तीनकुनेको छोप्या जस्तो, नाङ्गो भइसक्यो।’
लामिछानेले सरकारमाथि आफूलाई फसाउन मुद्दालाई ‘हतियार’ बनाउने रणनीति अख्तियार गरेको आरोप लगाए। उनले भने, ‘पर्साको मुद्दा किन झुण्ड्याइएको हो भन्ने सबैलाई थाहा छ। हामीलाई अनावश्यक दुःख दिन मात्रै यो लम्ब्याइएको हो।’
चार जिल्लामा धरौटीमा रिहा, तर पर्सामा प्रक्रिया अल्झिएको
लामिछानेविरुद्ध कास्की, काठमाडौं, रूपन्देही र चितवनमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भइसकेको थियो, जसमा उनी धरौटीमा रिहा भइसकेका छन्। तर, वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा पर्सामा अल्झिरहेको छ।
पर्सामा पहिलो पटक २०८० असोज २३ गते र दोस्रो पटक फागुन २ गते पूरक अभियोग दर्ता गरिएको थियो। तर, अनुसन्धान लम्ब्याइएको भन्दै लामिछानेले असन्तुष्टि जनाएका हुन्। उनले सरकारलाई ‘हतियार बनाएर मुद्दा झुण्ड्याउने खेल’ बन्द गर्न चेतावनी दिएका छन्।
पर्सामा मात्रै अनुसन्धान लम्ब्याउनुको कारण के?
चार जिल्लामा एकसाथ मुद्दा दर्ता भए पनि पर्सामा मात्रै अनुसन्धान लम्ब्याइएको छ। उच्च तहबाट पर्सा प्रहरीलाई ‘थप अनुसन्धान’ गर्न निर्देशन दिएको बताइन्छ, जसका कारण मुद्दा अगाडि नबढेको हो। लामिछानेले भने ‘हकदैया छैन, हदम्याद छैन, सबै थाहा छ। तर, सरकार भने छोप्ने ध्याउन्नमा छ।’
अब पर्साको मुद्दा कहिले अगाडि बढ्छ भन्ने अन्योल कायमै छ। तर, लामिछानेले आफूलाई अनावश्यक रूपमा फसाउन खोजिएको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन्।