प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन आज बैंकक प्रस्थान गर्नुभएको छ। उहाँले २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थाइल्यान्डको प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राले गरेको मैत्रीपूर्ण निमन्त्रणामा यो भ्रमण गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र अन्य उच्चपदस्थ अधिकारीहरुले सम्मानका साथ बिदाइ गर्नुभयो। यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई गारत अर्पण गरी सम्मान जनाएको थियो।
प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्रीबीच नेपाल–थाइल्यान्ड सम्बन्धमा विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भ्रमणको मुख्य उद्देश्य बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुँदै दक्षिण एशियाली र दक्षिणपूर्व एशियाली राष्ट्रहरूसँग प्राविधिक र आर्थिक सहयोगको सन्दर्भमा वार्ता गर्नु हो।
प्रधानमन्त्री ओली आगामी चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा भाग लिनुहुनेछ र सोही दिन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि, चैत २१ गते बिम्स्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा पनि उहाँको सहभागिता रहनेछ।
शिखर सम्मेलनका क्रममा, प्रधानमन्त्री ओलीले अन्य सदस्य देशका राष्ट्रप्रमुख र समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। प्रधानमन्त्रीका साथमा उहाँकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र मुख्यसचिव एकनारायण अर्याललगायतको टोली हुनेछ।
प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ।