कति समयदेखि गहवामाई मन्दिरको सेवा गर्ने अवसर पाउनु भएको छ ?
माईस्थान गहवामाई मन्दिरको व्यवस्थापन समितिको अध्यक्ष भएर १६ महिनाको कार्याकाल बितेको छ । तीस वर्षदेखि माईस्थान गहवा माईको कार्य समितिमा बसेर काम गरिसकेको छु । तीस वर्षको अवधिमा सदस्य, बरिष्ठ उपाध्यक्ष हुदै हाल अध्यक्ष पदमा बसेर काम गरिरहेको छु ।
गहवामाई मन्दिरको डोली यात्रा किन र के को लागि ?
माताको हरेक वर्ष डोली यात्रा हुनुपर्छ भन्ने धार्मिक मान्यता हो । गहवामाईको भाकल गरेपछि भक्तजनहरुको इच्छा, मनोकामना पुरा हुन्छ । धार्मिक मान्यता, पुरोहित, सरोकारवालाहरुसँग सल्लाह सुझाव अनुसार गहवामाई मन्दिरको प्रचार–प्रसारको लागि गहवामाई मन्दिरको डोली यात्रा गत वर्षदेखि सुरुवात गरेका छौं ।
पहिला गहवामाई माताको डोली यात्रा किन हुन सकेन ?
म भन्दा पहिलाको नेतृत्वले डोली यात्रा निकाल्न नसकेको आरोप लगाउन मिल्दैन । मेरो कार्यकालमा गहवामाईको प्रेरणाले सुरु भएको हो । आधुनिक समाज बढ्दै गएपछि सोच, विचारहरु बढ्दै जान्छ । त्यसैले गहवामाईको डोली यात्रा मेरो कार्यकालमा सुरु हुनुलाई सामान्य रुपमा नै लिनु पर्छ । माताको प्रेरणा अनुसार नै सुरु भएको हो ।
डोली यात्राको विशेषता के हो ?
जहाँ पनि नगरको देवतालाई डोली यात्रा गराउने चलन ंहिन्दुधर्ममा छ । देवताको नगर परिक्रमाले गर्दा नगरमा सुख, शान्ति, समृद्धि कायम रहनुका साथै माताको कृपा बनिरहन्छ भन्ने मान्यता अनुसार गहवामाई माताको नगर परिक्रमा गराउने कार्यक्रम सुरु गरिएको हो । चैत्र नवरात्रको शुक्ल पक्ष अष्टमीका दिन चैत्र २३ गते शनिबारका दिनको २ बजेदेखि बिशेष डोली पुजा सुरु हुन्छ । ४ बजेदेखि डोली यात्रा सुरु हुन्छ । अघिल्लो वर्षको डोली यात्रामा करिब २०÷२५ हजार जति भक्तजनको सहभागी थिए । यो वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर सहभागी हुने अनुमान गरेका छौं । धार्मिक कार्यक्रममा महिलाहरुको विशेष सहभागिता र भूमिका र योगदान छ । ९० प्रतिशत झण्डा (निसान) बोक्नेमा महिलाको सहभागिता छ । मध्यम वर्गिय उमेरका, युवाहरु, वृद्धहरुको सहभागिता बढी हुन्छ । गहवामाईसँगको पहुँच कुनै व्यक्ति विशेषले हुन सक्दैन । भक्तजनहरुको सरल पहुँच छ । कोही अशक्त छन् । झण्डा बोक्ने ईच्छा छ भने मसँग सम्पर्क गर्नु भएका झण्डा बोक्ने वातावरण मिलाई दिन्छु ।
गहवामाईको डोली यात्रामा निसान बोक्न मूल्य तिर्नु पर्छ ?
गहवा माईको डोली यात्रामा निसान बोक्नको लागि ३ सय ५ रुपैयाँ लाग्छ । त्यसमा झण्डा बोक्ने डण्डी, गहवामाईको अंग वस्त्र (दोपट्टा), गहवामाईको टोपी दिएका हुन्छौं । कार्यालयमा रसिद काटिरहेका छन् । अहिले २ सय रसिद काटिसकेको छ । गत वर्ष ६ सय ५० रसिद काटेका थियौ । यो वर्ष १ हजार रसिद काटिने अनुमान गरेको छु ।
धार्मिक पर्यटनको क्षेत्रमा विकास गर्न कहाँ चुक्यौं ?
धार्मिक पर्यटनको रुपमा गहवामाईलाई अझ विकास गर्न सकिन्छ । गहवामाईको व्यवस्थापन समितिले मात्र सक्दैन । गहवामाईको व्यवस्थापन समितिले गरेको डोली यात्राले ठूलो योगदान पु¥याएको छ । असोजको नवरात्रमा पनि ठूलो मेला लाग्छ । धार्मिक पर्यटनको हिसाबले विकास गर्ने हो भने सम्बन्धित निकायहरुले वीरगंज महानगर क्षेत्रलाई नै लक्षित गरेर सुविधायुक्त बनाउन सकेमा वीरगंजमा पर्यटकहरुको आगमन हुने सम्भावना छ ।
वीरगंजलाई धार्मिक पर्यटन नगरी बनाउन समस्या कहाँ छ ?
हाम्रो क्षमताले भ्याएसम्म सामाजिक सञ्जालको प्रचार–प्रसारमा प्रयोग गरिरहेका छौं । डोली यात्रा र असोज नवरात्रको मेलाको आरति समयमा लाइभ गराएका छौं । बेला–बेलामा सञ्चार साथीहरुसँग छलफल गरेर अन्तरक्रिया गरिरहेका छौं । जसले गर्दा सूचना तथा प्रचार प्रसार भइरहेको छ । वीरगंज नगर क्षेत्रलाई नै लक्षित गरेर काम गर्ने हो भने राज्यले धेरै गर्न सक्छ । पर्यटक क्षेत्रको विकास हुने धेरै ठूलो सम्भावना छ ।
धार्मिक पर्यटन नगरीको रुपमा विकास भएमा कस्तो सम्भावना देख्नु हुन्छ ?
धार्मिक पर्यटनको रुपमा विकास गर्ने हो भने बाहिरबाट आउने पर्यटकहरुको आगमन हुदाँ वीरगंजको होटल, लज, धर्मशाला बस्ने भएकाले रोजगार हुने । यहाँ आएपछि केही न केही किनमेल गर्ने हुनाले यहाँको व्यापार व्यवसायमा वृद्धि हुन्छ । मन्दिरहरुमाथि आश्रित फूल, प्रसाद बेच्ने व्यवसायीहरुले रोजगार पाउँछन् । धार्मिक पर्यटन नगरीको विकास हुदाँ धेरै क्षेत्र प्रभावित हुन सक्छ ।
गहवामाईको धर्मशालाको अवस्था कस्तो छ ?
गहवामाईको धर्मशाला धेरै पहिला नै बनेको हो । नगरपलिकाको सहयोगमा बनेको धर्मशाला तत्कालीन नगर प्रमुख विमल कुमार श्रीवास्तावले उद्घाटन गरेका थिए । अहिले समय अनुसार संस्थाहरु अपडेट हुनु पर्छ । म अध्यक्ष भएपछि धर्मशालालाई अपग्रेड गर्ने काम गरिरहेको छु । रुम हरुलाई एटेज बनाउने, एसी लगाउने काम सुरुवात भइसकेको छ । एउटा कोठा त्यस्तो बनी सकेको छ । धर्मशालाको अपग्रेड गर्ने प्रक्रियामा नै छौं । गहवामाईलाई चाहिने जति संरचना छ । भोलीको हिसाबले हेर्ने हो भने जति ठाउँमा मन्दिर बनेको छ त्यो भन्दा अलि फराकिलो भइदिएको भए राम्रो हुन्थ्यो । असोजको नवरात्रमा खैच भर्ने चलन छ । खैच भर्दा महिला मात्र धेरै हुने भएकोले अत्याधिक भिड हुन्छ । आदर्शनगरमा ८ कठ्ठा जग्गा छ । प्रदेश सभा सदस्य बिना जयसवालको सहयोगमा कम्पाउण्ड घर्ने, माटो भर्ने काम गरिसकेको छु ।
मन्दिरको व्यवस्थापन समितिको नेतृत्वमा पनि आरोप लाग्ने गर्छ नी ?
सामाजिक क्षेत्रमा बसेर नेतृत्व गर्दा समाजले प्रश्न उठाउन सक्छ । मन्दिर जस्तो पवित्र स्थानमा नेतृत्व गर्ने व्यक्ति माथि प्रश्न उठ्नु अस्वभाविक हो । त्यसको जवाफदेहिता सामाजिक दायित्व बोकेको व्यक्तिले लिनु पर्छ । माइस्थान गहवामाई मन्दिर समितिको हकमा नेपाल सरकारले बनाएको नीति अनुरुप हरेक वर्ष विधीव्त रुपमा लेखा परिक्षण गर्ने गरेका छौं । साधरण सभाबाट पास गराउँछौं । महानगरलाई आय व्यय र लेखापरिक्षणको प्रतिवेदन समेत दिएका छौं । सामाजिक सञ्जालमा आएपछि महानगरलाई हामीले पुनः सम्पूर्ण आय व्यय, लेखापरिक्षणको प्रतिवेदन समेत दिएको छौं । वडालाई समेत जानकारी दिएका छौं ।
पहिला र अहिलेको गहवामाईको नेतृत्वमा के फरक छ ?
गहवामाईको प्रचार–प्रसारको लागि मिडिया, सामाजिक सञ्जाल, प्रत्यक्ष अप्रत्यक्ष सम्पकर्, मन्दिर व्यवस्थापनमा सबै पधादिकारीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छौं । सबै सदस्यलाई जिम्मेवारीको जवाफदेहिता बनाउने काम मेरो नेतृत्वमा भएको छ ।
गहवामाई मन्दिरमा दर्शन गर्ने नियम के छ ?
माईस्थान गहवामाई संचालक समिति अन्र्तगत गहवामाई मन्दिरमा पहिला पुरानो मन्दिर हुदाँ भित्रसम्म गएर पुजा गर्ने चलन थियो । अहिले नयाँ मन्दिर निर्माण भएपछि भित्र पसेर पुजा गर्ने चलन बन्द छ । सबैले दर्शन गर्न पाउन भनेर आरतिको समयमा सामाजिक सञ्जालमा लाइभ गर्ने गरेका छौं । आरति बिहान ४ बजे र साँझ ४ बजेदेखि ७ बजे भित्र हुन्छ । गहवामाई मन्दिर क्षेत्रमा माइक राखेका छौं । आरतिको समयमा मधुरो स्वरमा माइकबाट आरति ध्वनी सुनाउने गरेका छौं । गत वर्ष गहवा माईको डोली यात्रामा दाताहरुको सहयोग पनि प्रसस्त थियो । आर्थिक रुपले जसले सहयोग गर्न सक्दैनन् । उसले शारिरीक र मानसिक रुपले सहयोग गरे । सञ्चारकमी मित्रहरुले पनि अत्याधिक सहयोग गर्नु भयो । मैले सबैलाई समन्वय गर्ने काम मात्र गरे । डोली यात्रामा वीरगंजका धार्मिक मठ मन्दिरका प्रतिनिधीहरु, धार्मिक सामाजिक संघ संस्थाको प्रतिनिधीहरु, प्रतिष्ठित व्यक्तित्वहरु, स्थानीय सरकारको निर्वाचित जन प्रतिनिधीहरु, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक क्षेत्र, शिक्षकहरुलाई समेटेर अन्तरक्रिया गराएर उहाँहरुको सहयोगबाट नै ७ लाखको खर्चमा पहिलो डोली यात्रा निकाल्न सफल भइयो । जरुरी काममा खर्च गर्नु पर्छ । अनावश्यक रुपमा खर्च गर्नु हुदैन भन्ने मेरो धारणा हो । दाताहरुले आस्थाले दिएको पैसा हो । सबै प्रयोग हुनु पर्छ । माईस्थान गहवामाई समितिमको मात्र ६ सय २० रुपैयाँ मात्र खर्च भएको छ । यो वर्ष खर्च कम हुन्छ । अघिल्लो वर्ष डोली बनाउनु र निशान किन्नु थियो । यो वर्ष डोलीको रंग रोगन गर्नु मात्र छ । यो वर्ष ५ लाख जतिमा डोली यात्रा सम्पन्न हुन्छ । यो खर्च पनि दाताहरुबाट नै संकलन हुन्छ भन्ने आशा छ ।
अझ क–कस्को सहयोग चाहिन्छ भन्ने सोच छ ?
यो वर्ष निकालिने डोली यात्राको लागि दाताहरु आफैले फोन गरेर सहयोग गरिरहेका छन् । सञ्चाकर्मी मित्रहरुले पनि पूर्ण सहयोग गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरीका एसपीहरुसँग बसेर पनि मौखिक रुपमा छलफल भएको छ । उहाँहरुको पूर्ण सहयोग छ । महानगर र ३२ वटा वडाहरुसंग पनि समन्वय गरिरहेका छौं । गहवामाईको डोली यात्रामा सम्पूर्ण वर्ग र क्षेत्रबाट पूर्ण रुपमा सहयोग पाइरहेका छौं ।
नेतृत्व गर्दा र नेतृत्वमा नरहदाँ के फरक पाउनु भयो ?
आफू नेतृत्वमा आइसकेपछि जिम्मेवारीको बोध बढी हुन्छ । समूहमा मिलेर काम गरेमा खासै कठिन पनि हुदैन । जिम्मेवारी बढी हुन्छ । जवाफदेहिता बढी हुन्छ । सार्वजानिक स्थानमा बसेपछि आलोचना बढी गर्छन् । प्रशंसा पनि गर्छन् । वीरगंज महानगरपलिकाको वडा अध्यक्ष पनि भैसकेको छु । राजनीतिक दलको केन्द्रिय विभागको सदस्यमा पनि छु । धार्मिक संघ संस्थासँग पनि आबद्ध छु । नेतृत्व व्यक्तिको व्यक्तित्वमा पनि भर पर्छ ।