इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सुरुआत दुवै टिमका लागि सुखद् रहेन। गत सिजनका फाइनलिस्ट कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद यो सिजन खराब लयमा छन्। तीन खेल गइसकेपछि कोलकाता तालिकाको पुछारमा छ भने हैदराबाद मात्र दुई स्थान माथि छ।
तर, बिहीबार इडेन गार्डेन्समा यी दुई टोली भिड्दै गर्दा सबैको ध्यान पिचमा केन्द्रित हुनेछ। गत सिजन उच्च स्कोर बनाउने यी दुई टोली यसपटक कम स्कोरको खेलमा फस्न सक्छन्।
इडेन गार्डेन्सको पिचमा विवाद, के भयो सम्झौता?
कोलकाता नाइट राइडर्स र इडेन गार्डेन्सको पिच क्युरेटरबीच चलेको विवाद अन्ततः टुंगिएको देखिन्छ। रिपोर्टअनुसार, खेलका लागि दुई फरक पिच तयार गरिएको थियो – एउटा सुख्खा र अर्को अझै सुख्खा। अन्ततः केकेआरले सबैभन्दा सुख्खा पिच रोज्ने निर्णय गरेको छ।
आईपीएलका नियमअनुसार कुनै पनि टोलीलाई पिच छनोट गर्ने अधिकार छैन, तर केकेआर मात्र यस्तो असन्तुष्ट फ्रेन्चाइजी होइन। चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सले पनि हालै आफ्ना घरेलु मैदानका पिचबारे असन्तोष व्यक्त गरिसकेका छन्।
ड्वेन ब्राभोको सन्देश: "परिस्थितिअनुसार खेल्न सिक्नुपर्छ"
कोलकाता नाइट राइडर्सका मेंटोर ड्वेन ब्राभोले खेल अघि आफ्ना खेलाडीहरूलाई पिचको खासै प्रवाह नगर्न सुझाव दिए। उनले भने, "खेलमा जित्ने टोली त्यो हुनेछ, जसले खेल्ने दिन उत्कृष्ट प्रदर्शन गर्छ। पिच ढिलो छ, टर्न लिन्छ या लिँदैन, मेरो सुझाव खेलाडीहरूलाई सधैँ एउटै हुनेछ – अवस्था बुझ, अनुकूलन गर, र त्यसैअनुसार खेल।"
ब्राभोको भनाइ केकेआरका खेलाडीहरूका लागि मात्र नभएर विपक्षी सनराइजर्स हैदराबादका लागि पनि अप्रत्यक्ष चेतावनी हुनसक्छ। हैदराबाद गत सिजनदेखि समथर पिचमा राम्रो खेलेको छ। तर, यो पटक उनीहरू फरक चुनौती सामना गर्नुपर्नेछ।
स्पिनका खेलमा केकेआरको दाँजो भारी कि कमजोर?
कोलकाताले पुछारको स्थानबाट माथि उठ्न स्पिन आक्रमणलाई हतियार बनाउन खोजेको देखिन्छ। तर, यो रणनीति हैदराबादविरुद्ध उल्टिन पनि सक्छ। हैदराबादको बलिङ आक्रमणमा सशक्त स्पिनरहरूको कमी देखिए पनि उनीहरूको ब्याटिङले स्पिन बलरहरूलाई राम्रोसँग सामना गर्न सक्छ।
इडेन गार्डेन्समा भएको पछिल्लो सिजनको खेलमा दुबै टोलीले २०० भन्दा बढी रन बनाएका थिए। तर, यसपटक भने पिचको अवस्थाका कारण यस्तो उच्च स्कोर दोहोरिन गाह्रो देखिन्छ।
रायन कुकको प्रतिक्रिया: "लामो ब्याटिङ लाइनअप, प्रतिस्पर्धात्मक खेलको अपेक्षा"
सनराइजर्स हैदराबादका फिल्डिङ प्रशिक्षक रायन कुकले खेलअघि भने, "दुवै टोलीको ब्याटिङ लाइनअप निकै लामो छ। ती तोड्न सहज छैन। अघिल्लो सिजन यहीं २०० बनाम २०० को रोमाञ्चक खेल भएको थियो। यसपटक पनि त्यस्तै प्रतिस्पर्धात्मक खेलको आशा गरेका छौँ।"
कुल मिलाएर, कोलकाता र हैदराबाद दुबैलाई जितको खाँचो छ। कठिन परिस्थितिमा कुन टोली उत्कृष्ट प्रदर्शन गर्छ भन्ने प्रश्न आजको खेलले जवाफ दिनेछ।