अमेरिकाले शनिबारदेखि सबै प्रकारका आयातमा १०% “बेसलाइन” महसुल (tariff) लगाउन सुरु गरेपछि विश्वव्यापी व्यापार सम्बन्धमा तनाव चुलिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको यस कदमले चीन, बेलायत, फ्रान्स लगायत सयौं मुलुक प्रभावित भएका छन्।
ट्रम्पले अमेरिकाको बजारमा आएको अस्थिरतालाई “आर्थिक क्रान्ति” भन्दै यसको अन्त्य “ऐतिहासिक” हुने दाबी गरे। उनले अमेरिकी नागरिकलाई “कठोर बन्न” आह्वान गरेका छन्।
तर, बजारमा यसको असर तुरुन्तै देखिएको छ। शुक्रबार अमेरिकी सेयर बजारका तीनै प्रमुख सूचकांक पाँच प्रतिशतभन्दा बढीले ओरालो लागे। S&P 500 सूचकांक मात्रै झण्डै ६% ले घटेको छ, जुन २०२० यताकै सबैभन्दा खराब साताको संकेत हो।
ट्रम्पको नयाँ व्यापार नीतिपछि अमेरिका लगायत विश्वका प्रमुख शहरहरूमा सरकारविरुद्ध ठूलो विरोध प्रदर्शन भएको छ। वाशिङ्टन डिसी, न्यूयोर्क लगायत सहरहरूमा करिब १,२०० प्रदर्शनहरू आयोजना भएका छन्।
यता, बेलायत र फ्रान्सले "सबै विकल्प खुला राख्ने" प्रतिक्रिया दिएका छन्। बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले राष्ट्रपति इमानुएल म्याक्रोंसँगको कुराकानीमा "व्यापार युद्ध कसैका लागि लाभदायक हुँदैन" भन्दै तर "आवश्यक कदम चाल्न पछि नपर्ने" चेतावनी दिएका छन्।
चीनको कडा प्रतिक्रिया र प्रतिकार
चीन ट्रम्पको महसुल अभियानबाट सबैभन्दा बढी प्रभावित भएको मुलुक हो। शुक्रबार, चीनले अमेरिकाबाट हुने आयातमा ३४% महसुल घोषणा गरेको छ, जुन ठीक अमेरिकाले चीनमाथि लगाएको दर बराबर हो। साथै चीनले विश्व व्यापार संगठन (WTO) मा यसविरुद्ध उजुरी पनि दर्ता गरेको छ।
चीनको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै अमेरिका “आफ्नो स्वार्थमा चीनको व्यापार र विकास अधिकारलाई दबाउने प्रयास” गरिरहेको आरोप लगायो।
युरोप–अमेरिका स्वतन्त्र व्यापार सम्भावना?
टेस्ला प्रमुख एवं ट्रम्प नीतिको समर्थन गर्दै आएका एलन मस्कले युरोप र अमेरिकाबीच ‘शून्य महसुल नीति’ लागू गर्न सकिने सम्भावना औंल्याएका छन्। उनी हाल इटाली भ्रमणमा छन् र त्यहाँ सरकारी अधिकारीहरूसँग छलफल गरिरहेका छन्।
मस्कले युरोप–उत्तर अमेरिका स्वतन्त्र व्यापार क्षेत्रको परिकल्पना गरेका छन्, जुन हालको व्यापार द्वन्द्वलाई समाधान गर्न सहयोगी हुनसक्ने बताइएको छ।
तर आगामी अप्रिल ९ देखि अमेरिकाले "असन्तुलित व्यापार गर्ने मुलुकहरू" लाई ५०% सम्मको महसुल लगाउने तयारीले यो सम्भावनामा अन्योल छाएको छ। यूरोपेली संघ (EU) लाई मात्र २०% महसुल लाग्ने तयारी छ।
व्यापारिक प्रभाव : जुगार ल्याण्ड रोभरको निर्णय
ट्रम्पको निर्णयपछि बेलायतको कार निर्माता कम्पनी Jaguar Land Rover ले अमेरिकी बजारमा आफ्नो गाडी निर्यात "अस्थायी रुपमा स्थगित" गर्ने निर्णय लिएको छ। कम्पनीले नयाँ व्यापार सर्तलाई समीक्षा गर्नुपर्ने भन्दै उक्त कदम चालेको जनाएको छ।
नयाँ अमेरिका, शक्तिशाली कार्यपालिका
यो महसुल नीति राष्ट्रपति ट्रम्पको कार्यकारी शक्तिलाई थप बढाउने नीति सँग पनि जोडिएको छ। अमेरिकाको कार्यपालिका शाखाको अधिकार बढाउने योजना अन्तर्गत हालै ह्वाइट हाउसले नयाँ संरचनागत नीति सार्वजनिक गरेको थियो, जसको नेतृत्वमा एलन मस्कको "Department of Government Efficiency (Doge)" रहेको छ।
यसको विरोधमा अमेरिकाभर हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन्।