नेपालको राजसंस्थाको पुनर्स्थापनाका पक्षमा व्यापक जनमत निर्माण गर्न थालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंगलबार काठमाडौंको बल्खुमा बागमती प्रदेशस्तरीय आमसभा गर्ने भएको छ।
राप्रपाले सुरुमा भृकुटीमण्डपमा आमसभा गर्न अनुमति मागेको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो क्षेत्र वरिपरि नेपाल शिक्षक महासंघलगायत विभिन्न संगठनका आन्दोलनहरू भइरहेकाले सुरक्षा कारण देखाउँदै विकल्पका रूपमा बल्खु वा सिफल चौर प्रस्ताव गरेको थियो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, परिस्थिति र प्रशासनिक सीमितताका कारण अन्ततः बल्खुमा सभा गर्ने निर्णय गरिएको छ। श्रेष्ठले भने, “हामीले ऐनकानून पालना गर्दै आफ्नो आवाज उठाउने बाटो रोजेका हौं।”
राप्रपाले राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरिएको आन्दोलन परिचालन मूल समितिमार्फत राजसंस्थाको पुनर्स्थापनालगायत विषयलाई प्राथमिकतामा राख्दै चरणबद्ध आन्दोलन अगाडि बढाइरहेको छ।
यही आन्दोलनलाई थप जनस्तरको समर्थन दिलाउन ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले समेत राप्रपालाई समर्थन जनाएको छ। नवराज सुवेदीको नेतृत्वमा रहेको उक्त समितिले पछिल्लो समय सार्वजनिकरूपमा राजसंस्थाको पक्षमा जनमत खडा गर्ने उद्देश्य राखेको छ।
गत चैत १५ गते जनकमान्डर दुर्गा प्रसाईंको अगुवाइमा तीनकुनेमा आयोजित प्रदर्शनमा राप्रपाले समर्थन जनाउँदै विज्ञप्ति पनि निकालेको थियो।
राजसंस्थाको बहस राजनीतिक केन्द्रमा पुनः फर्किएको यस समयमा राप्रपाको यो आमसभा महत्त्वपूर्ण मानिएको छ। सत्तापक्ष र प्रतिपक्षबीचको शक्ति सन्तुलन र वैकल्पिक नेतृत्वको खोजी भइरहेको अवस्थामा राप्रपाले उठाएको एजेन्डा राजनीतिक गल्लीमा चर्चा बटुल्दैछ।