राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको आदेशअनुसार सोमबार रूपन्देही जिल्ला कारागारमा थुनामा राखिएको छ। अदालतको आदेशपछि उनलाई विशेष सुरक्षा व्यवस्थासहित कारागार ल्याइएको हो।
रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार सोमबार बिहान कार्यालय समय सुरु भएलगत्तै लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो। "अदालतको आदेशपत्र प्राप्त भएपछि उनलाई सोही आधारमा कारागार चलान गरियो," एसपी राठौरले जानकारी दिए।
अलग्गै कोठामा थुनुवा
जिल्ला कारागार रूपन्देहीका प्रमुख जगतबहादुर बस्नेतका अनुसार लामिछानेलाई ४ नम्बर ब्लकमा राखिएको छ।
"उहाँलाई राखिएको कोठामा अन्य कुनै थुनुवा छैन," बस्नेतले बताए। लामिछानेलाई भीआईपी सुविधा भने दिइएको छैन, तर सुरक्षा संवेदनशीलता तथा पूर्व पदाधिकारीका रूपमा विशेष सतर्कता अपनाइएको छ।
रूपन्देही कारागारमा चार वटा भवन रहेका छन्। तीमध्ये ४ नम्बर ब्लक अपेक्षाकृत अलग्गै स्थानमा रहेको हो।
समान मुद्दा, फरक व्यवहार?
रुपन्देही कारागारमै थुनामा रहेका पूर्व डिआइजी छबिलाल जोशीलाई भने समूहमा राखिएको छ। उनको हकमा उच्च अदालतले जिल्ला अदालतको पुर्पक्ष थुनाको फैसला सदर गरिसकेको छ। यससँगै लामिछाने र जोशीबीच समान कानुनी प्रक्रिया भए तापनि कारागार व्यवस्थापनमा देखिएको भिन्नताले चासो थपेको छ।
प्रमुख बस्नेतले भने – "यो सुरक्षा मूल्यांकनका आधारमा गरिएको व्यवस्थापन हो, विशेष सुविधा होइन।"
सुरक्षामूलक व्यवस्था कडाइ
लामिछानेलाई कारागार ल्याउने बेलामा सादा पोशाकका प्रहरी, विशेष प्रहरी टोली र सिसिटिभी निगरानी प्रयोग गरिएको थियो।
उनीमाथिको सामाजिक प्रभाव, दलगत समर्पण र पूर्व गृहमन्त्रीको पहिचानका कारण सम्भावित जोखिमका लागि प्रशासन उच्च सतर्क अवस्थामा रहेको छ।