काठमाडौंको बानेश्वर–बबरमहल सडकखण्ड सोमबार दिउँसो फरक दृश्यले रंगिएको थियो। त्यहाँ शिक्षाका पक्षमा आवाज उठाउँदै हजारौँ शिक्षक–कर्मचारीहरू मोबाइल र हेड ल्याम्पको टर्च बाल्दै सरकारको विरोधमा उत्रिएका थिए।
उनीहरूका हातमा प्लेकार्ड थिए, मुखमा नाराहरू थिए र हृदयमा थियो– शिक्षा ऐनको माग। नेपाल शिक्षक महासंघको अगुवाइमा भेला भएका शिक्षकहरुले 'गुणस्तरीय र मैत्रीपूर्ण विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर' भन्ने माग दोहोर्याइरहेका थिए।
सांकेतिक प्रदर्शनको शैली अनौठो
दिउँसै उज्यालोमा टर्च बालेर प्रदर्शन गरिएको थियो, जुन शैलीले धेरैको ध्यान खिच्यो। आन्दोलनकारीहरूले सरकारले शिक्षा क्षेत्रको अँध्यारो बढाउँदै लगेको आरोप लगाउँदै त्यसकै प्रतीकस्वरूप टर्च बालिएको बताएका थिए।
प्रहरीको बाक्लो उपस्थितिका बीच प्रदर्शन
प्रदर्शनका क्रममा बबरमहल र बानेश्वरबीचको सडक खण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। केही समय सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूलाई असहज भयो। यद्यपि, प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
चैत २० देखि सुरु आन्दोलन, २५ देखि आम शैक्षिक हड्ताल
नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको हो। २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा भएपछि विद्यालय तहको पठनपाठन ठप्प भएको छ। यसले एसईईको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित बनाएको छ।
महासंघका प्रतिनिधिहरूका अनुसार, शिक्षा ऐन बिना गुणस्तरीय शिक्षा सम्भव छैन। उनीहरूले यो आन्दोलनलाई अन्तिम र निर्णायक भन्दै माग पूरा नभए थप सशक्त आन्दोलनको चेतावनीसमेत दिएका छन्।
पहिले कालोपट्टी, अब टर्च – आन्दोलनको शृंखला
शिक्षकहरुले यसअघि कालोपट्टी बाँध्ने, सिट्टी फुक्ने, मौन धारण गर्ने, सडकमा सुत्ने जस्ता विभिन्न शैलीमा विरोध जनाएका थिए। सोमबारको टर्च प्रदर्शन आन्दोलनको नवीन चरणको संकेत थियो।