राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले वर्तमान सरकार सुध्रिएन भने देशमा बंगलादेश र श्रीलंकाको जस्तो अवस्था आउने चेतावनी दिएका छन्।
मंगलबार काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै सांसद सिंहले अब देशमा राजतन्त्रबाहेक विकल्प नरहेको जिकिर गरे। उनले भने, “अहिले पनि यो सरकार नसुध्रिए, जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउनेछ। राजा बाहेक अरु विकल्प हामीसँग छैन। देश बचाउन र जनतालाई यहीँ रोजगारी दिन राजा नै विकल्प हो।”
नेताहरूको रिहाइको माग
सांसद सिंहले वैशाख १५ गते तीनकुनेमा भएको घटनामा गिरफ्तार भएका पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई निशर्त रिहा गर्नुपर्ने माग पनि गरे।
उनले सरकारलाई चेतावनी दिँदै भने, “डा. धवलशमशेर राणा र रवीन्द्र मिश्र, जो बेलायतमा पत्रकारिता गर्ने व्यक्तिहरू हुन्, उनीहरूलाई आतंककारी भन्न मिल्छ? यी विद्वान् व्यक्तिहरूलाई उग्र बनाउने तपाईंहरू नै हो। निशर्त छाड्नुपर्छ। नत्र गम्भीर परिणाम भोग्न तयार हुनुपर्छ।”
प्रदर्शनमा उपस्थिति
बल्खुमा आयोजित उक्त विरोध सभामा राप्रपाका शीर्ष नेताहरू, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति थियो। राप्रपाले राजतन्त्र पुनःस्थापनाको मागसहित देशभर आन्दोलन जारी राखेको छ। पार्टीले आफ्ना नेताहरूको गिरफ्तारीलाई राजनीतिक दमन को संज्ञा दिएको छ।
सांसद सिंहको यो चेतावनीसँगै राजनीतिक वृत्तमा राजतन्त्र पुनर्स्थापनाको बहस पुनः तात्न थालेको देखिन्छ।