“प्याण्डोराको बाकस खोलेजस्तो गर्दैनौं,” प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेस प्रदेश सभामा सम्बोधन गर्दै भने, “संविधान संशोधन समयको माग र अनुभवका आधारमा मात्र हुनेछ, अराजक रूपमा होइन।”
प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति संविधान संशोधनको सन्दर्भमा आइरहेका चर्का बहस र राजतन्त्रको पुनर्स्थापनाको चिच्याहटबीच आएको हो। उनले भने, “गणतन्त्र देशको वर्तमान मात्र होइन, भविष्य पनि हो। केहीले राजतन्त्रको सपना देखे पनि त्यो भ्रम हो, आजको सचेत समाजले सामन्ती व्यवस्था कहिल्यै स्वीकार्दैन।”
संविधान संशोधनको प्रक्रिया राजनीतिक समितिबाट
प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार राजनीतिक समिति बनाएर संशोधन प्रक्रिया अघि बढाउने जानकारी दिए। “संविधानमा सुधारको आवश्यकता महसुस भएको छ, तर त्यो विकास, सुशासन र सामाजिक सद्भावका लागि मात्रै हो,” उनले स्पष्ट पारे।
उनको भनाइमा, संविधान कार्यान्वयनको अनुभवले देखाएको कमजोरीलाई सम्बोधन गरेर प्रणालीलाई बलियो बनाउने उद्देश्य रहेको छ।
राजतन्त्रको पुनरागमनप्रति कटाक्ष
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने प्रयासलाई विफल हुने बताए। “नयाँ पुस्तालाई भ्रममा पारेर निरंकुश राजतन्त्र फर्काउने कुरा गरिन्छ, तर हामीले नयाँ पुस्तालाई सचेत बनाउनु पर्छ,” उनले भने।
उनको कथनमा “साच्चै देश बचाउन चाहने हो भने, सुधारको बाटो समाउनु पर्छ, न कि इतिहासमा फर्कने।”
गणतन्त्रको रक्षामा सबैको भूमिका
“यो श्रेष्ठ प्रणाली हो, यसको रक्षा गर्नु हामी सबैको जिम्मेवारी हो,” प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रलाई जनताको ऐतिहासिक संघर्षको उपलब्धि भन्दै यसलाई संस्थागत गर्न सबै राजनीतिक दल, नागरिक र राज्य संयन्त्रले भूमिका खेल्नुपर्ने बताए।
छिमेकीसँगको सम्बन्धमा स्पष्ट सन्देश
अन्तर्राष्ट्रिय सम्बन्धबारे टिप्पणी गर्दै प्रधानमन्त्रीले अनावश्यक हल्लाको खण्डन गरे। “सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भने पछि कुरा सकिन्छ,” उनले भारत र चीनसँगको सम्बन्धको विषयमा भन्दै भने, “दुई छिमेकीसँग हाम्रो असल मित्रता छ, अफवाह फैलाउनु अनुचित हो।”