नेपाली राष्ट्रिय क्रिकेट टोलीका होनहार अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ऐतिहासिक कीर्तिमान थप्दै आफूलाई विश्वस्तरको खेलाडीको रूपमा स्थापित गरेका छन्। दिपेन्द्रले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक पनि "डक" (शून्य रनमा आउट) नभइ खेलेका छन्, जुन विश्व क्रिकेटमै एक अद्वितीय उपलब्धि हो।
उनले हालसम्म ७६ टी-२० खेल खेल्दा ६६ पटक ब्याटिङ गरेका छन् र एकपल्ट पनि डक आउट भएका छैनन्। बाँकी १० खेलमा भने ब्याटिङको मौका नै आउन सकेन। यस प्रकार, बिना डक सबैभन्दा धेरै इनिङ्स खेलेर उनले वेस्ट इन्डिजका पूर्व खेलाडी मार्लन सामुयल्सको कीर्तिमानलाई उछिनेका छन्, जसले ६५ इनिङमा डकआउट नभइ कीर्तिमान बनाएका थिए।
यसो त दिपेन्द्रसिंह ऐरी कीर्तिमानको मामलामा पहिले पनि अगाडि देखिइसकेका छन्। उनले २०२2 मा ९ बलमै अर्धशतक प्रहार गर्दै टी-२० इतिहासकै सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका थिए — जुन अब केवल बराबरी गर्न सकिन्छ, तोड्न सकिँदैन।
त्यसैगरी, एकै ओभरमा ६ छक्का प्रहार गर्ने दुर्लभ उपलब्धि हासिल गर्ने खेलाडीहरूको सूचीमा उनको नाम पनि सुचीकृत छ, जुन नेपाली क्रिकेटका लागि गौरवको विषय हो।
अहिलेको ताजा उदाहरण बिहीबार कुवेतविरुद्धको खेल हो, जहाँ उनले मात्र १२ बलमा ३१ रन बनाउँदै नेपालको जितमा सशक्त फिनिशिङ टच दिएका थिए। यस्तो निरन्तर उत्कृष्ट प्रदर्शनले उनी न केवल नेपाली टोलीको भरपर्दो स्तम्भ बनेका छन्, बरु नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिनिधि पात्र पनि।
दिपेन्द्रको संयमता, आक्रमकता र निरन्तरता भविष्यमा नेपाली क्रिकेटका लागि अझ धेरै सफलताको ढोका खोल्ने संकेत हुन्। उनका यी कीर्तिमानहरूले भविष्यका नयाँ खेलाडीहरूलाई प्रेरणाको स्रोत बन्ने निश्चित छ।