नेपालमा डिजिटल भुक्तानी प्रणाली विस्तारसँगै साइबर अपराधको नयाँ स्वरूप देखिन थालेको छ। पछिल्लो समय बैंक तथा वालेट प्रयोगकर्तालाई लक्षित गरी फिशिङ आक्रमण भइरहेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
ब्युरोले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै ‘The Alert’ र ‘AT Alert’ जस्ता नामबाट आउने एसएमएस तथा सन्देशहरू बेवास्ता गर्न अपिल गरेको छ। ती सन्देशमार्फत प्रयोगकर्ताको खातामा "असामान्य गतिविधि" देखिएको भन्दै दिइएको लिङ्कमा क्लिक गर्न उक्साउने र खाता निलम्बन गरिने चेतावनी दिने गरिएको पाइएको छ।
सूचनामा भनिएको छ, “त्यस्ता लिङ्कमा क्लिक गरेमा प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ विवरण जालसाजको कब्जामा जान सक्छ। साथै, त्यस्ता सन्देशहरूमा दिइएको लिङ्कबाट कुनै पनि सफ्टवेयर मोबाइल, ल्यापटप वा स्मार्ट डिभाइसमा इन्स्टल नगर्नुहोस्।”
साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमार्फत पनि यस्ता फिशिङ लिङ्कहरू पठाइने क्रम बढेको छ। "शेयर बजार तालिम", "अनलाइन लोन सुविधा" लगायतका बहानामा उपयोगकर्तालाई लिङ्कमार्फत *.exe फाइल इन्स्टल गर्न लगाइन्छ, जसबाट डिभाइसमा मालवेयर इन्स्टल भई व्यक्तिगत डेटा चोरी हुने सम्भावना रहन्छ।
ब्युरोले सबैलाई अनलाइन व्यवहारमा अत्यधिक सजग रहन, शंकास्पद लिङ्कमा क्लिक नगर्न, र बैंक/वालेटसम्बन्धी कुनै पनि जानकारी साझा नगर्न पुनः आग्रह गरेको छ।
