कहिलेकाहीँ ढोकाको ह्यान्डल समात्दा, कसैसँग हात मिलाउँदा वा कुनै धातुको वस्तु छोएको समयमा अचानक सानो झट्का लाग्ने अनुभव हामी धेरैले गरेका छौं। यो झट्काले केही सेकेन्डका लागि त अचम्ममा पार्छ, कहिलेकाहीँ हँसाउँछ पनि, तर यस्तो किन हुन्छ? यो खतरनाक हो त?
यसको उत्तर हो, स्थिर बिजुली (Static Electricity)। वैज्ञानिक रूपमा सामान्य मानिने यो प्रक्रिया जाडो मौसममा विशेषगरी बढी देखिन्छ र सामान्य जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित छ।
स्थिर बिजुली के हो?
स्थिर बिजुली भनेको शरीर वा कुनै वस्तुको सतहमा जम्मा भएको चार्ज हो। जब दुई फरक सामग्रीहरू एक–आपसमा घर्षणमा आउँछन्, तिनका परमाणुहरूले इलेक्ट्रोन आदानप्रदान गर्छन्। यसले एउटा वस्तुमा ऋणात्मक र अर्कोमा धनात्मक चार्ज निर्माण गर्छ। जब यस्ता चार्ज भएका दुई वस्तु एकअर्काको सम्पर्कमा आउँछन्, तब अचानक ऊर्जा मुक्त हुन्छ र झट्काको अनुभव हुन्छ।
सुख्खा मौसममा झन बढी किन हुन्छ?
जाडो मौसम वा सुख्खा वातावरणमा यस्तो समस्या बढी देखिन्छ, किनभने त्यतिबेला हावामा भएको आर्द्रता कम हुन्छ। आर्द्रताले शरीरको चार्जलाई धीरे–धीरे बाहिर लैजान्छ, तर जब वातावरण सुख्खा हुन्छ, त्यस्तो ट्रान्सफर हुँदैन। त्यसैले चार्ज शरीरमा जम्मा हुन्छ र सम्पर्कमा आउँदा एक्कासि छुटिन्छ।
के झट्का लाग्नु खतरनाक हो?
अधिकांश अवस्थामा यस्तो झट्का पूर्ण रूपमा हानिरहित हुन्छ। यसमा संलग्न ऊर्जा निकै कम हुन्छ – केवल एक सेकेन्डको भागमा महसुस हुनेगरी। तर यदि तपाईँ ज्वलनशील वस्तु वा अति संवेदनशील उपकरणहरूसँग हुनुहुन्छ भने, यस्तो झट्काले समस्या ल्याउन सक्छ। विशेषतः तेल र ग्यास उद्योग वा कम्प्युटर चिप निर्माणमा यस्तो चार्जले दुर्घटना निम्त्याउन सक्छ।
कसरी जोगिने? – केही सजिला उपायहरू
- आर्द्रता कायम राख्ने: घर वा अफिसमा ह्युमिडिफायर प्रयोग गर्दा हावा सन्तुलित हुन्छ र चार्ज कम बनाउँछ।
- प्राकृतिक कपडा प्रयोग गर्ने: कटन वा लिनेन जस्ता कपडाले चार्जको सृजना कम गर्छन्।
- छाला सुक्खा नराख्ने: लोशन वा मोइस्चराइज गरेर छालालाई नरम राख्दा चार्ज कम जम्मा हुन्छ।
- पक्की सतहमा नाङ्गो खुट्टा हिँड्ने: जमीनको सतहबाट चार्ज सोसिएर डिस्चार्ज हुन्छ।
- धातुमा छुँदा सावधानी अपनाउने: कुनै धातु समात्नुअघि सानो धातु वस्तु छुवेर चार्ज डिस्चार्ज गर्नुहोस्।
कसैलाई छुँदा वा कुनै वस्तु समात्दा अचानक लाग्ने झट्का एकदमै सामान्य, प्राकृतिक प्रक्रिया हो। यो कुनै रोग वा गम्भीर समस्या होइन। यद्यपि वातावरण र व्यवहारमा केही साना परिवर्तनहरू गरेर यस्तो झट्काबाट बच्न सकिन्छ।
अब अर्को पटक यस्तो हल्का झट्का लाग्दा अचम्म नमान्नुहोस् – यो केवल शरीरमा जम्मा भएको स्थिर बिजुली छुट्नु हो!