राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति'का अगुवा तथा 'जनकमाण्डर' भनिने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। चैत १५ गतेको प्रदर्शनपछिको फरार अवस्थाबाट आज शुक्रबार बिहान उनलाई झापाको काकडभिट्टाबाट पक्राउ गरिएको हो।
भारतको असामबाट झापा हुँदै पक्राउ
प्रहरी स्रोतका अनुसार प्रसाईं भारतको असामबाट काकडभिट्टा आएका बेला नियन्त्रणमा लिइए। उनलाई कालो सिसा लागिएको निजी गाडीमार्फत मेची पुल पार गराई झापाको भद्रपुर विमानस्थल पुर्याइएको हो, जहाँबाट फ्लाइटमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले प्रसाईं पक्राउ गरेको हो भने नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले केही बेरमा औपचारिक प्रेस विज्ञप्तिमार्फत विस्तृत जानकारी दिने तयारीमा रहेको जानकारी दिएका छन्।
चैत १५ को प्रदर्शनपछि फरार
राजसंस्थाको समर्थनमा चैत १५ गते काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शनमा सहभागी प्रसाईंले प्रहरीको सुरक्षा घेरा तोड्दै गाडी हुइँक्याएका थिए। त्यस क्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहरा र हवाइफायर समेत गरेको थियो। भिडन्तमा दुई जनाको ज्यान गएको थियो भने २० भन्दा बढी घाइते भएका थिए।
घटनापछि प्रसाईं फरार थिए र त्यसबीचमा दुईवटा भिडियो सन्देशमार्फत आफू नेपालमै सुरक्षित रहेको दाबी गरेका थिए। तर, प्रहरीको पछिल्लो कारबाहीले उनी भारतमै रहेको र नेपाल फर्किने क्रममा पक्राउ परेको पुष्टि भएको छ।
प्रसाईंको राजनीतिक उपस्थिति र यसको प्रभाव
विगत केही महिनायता राजसंस्थाको समर्थनमा सक्रिय प्रसाईंको भूमिका सामाजिक सञ्जालदेखि सडकसम्म चर्चित बन्दै गएको थियो। ‘जनकमाण्डर’ को उपाधिसहित उनी सडक आन्दोलनको फ्रन्टलाइनमा देखिँदै आएका थिए।
उनको पक्राउले राजसंस्था समर्थक आन्दोलनमा तत्कालीन रूपमा केही दबाब आउने सम्भावना देखिएको छ। तर आन्दोलनको दीर्घकालीन प्रभाव र राज्यसँगको टकराव अब कुन मोडमा पुग्छ भन्ने कुराले थप चासो बढाएको छ।