वीरगंज । नेपाल विद्युत प्राधिकरणले वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योग प्रतिष्ठानहरूमा गर्दै आएको अघोषित लोडसेडिङ र बिना पूर्वसूचना विद्युत कटौतीप्रति उद्योग संघले गम्भीर आपत्ति जनाएको छ ।
उद्योगहरूको दाबी अनुसार नियमित र गुणस्तरीय विद्युत आपूर्ति नभएकाले उद्योगहरू आफ्ना क्षमता अनुसार सञ्चालन हुन नसकेर आधा भन्दा कम क्षमतामा सीमित भएका छन् । यसले उत्पादन प्रक्रियामा प्रत्यक्ष असर परेको छ भने उद्योगको मेसिनरी र कच्चा पदार्थहरूमा पनि क्षति पुगिरहेको बताइएको छ ।
सन् २०१७ तिर नेपाल विद्युत प्राधिकरणले “लोडसेडिङमुक्त औद्योगिक क्षेत्र” घोषणा गरेपछि आशावादी भएका उद्योगीहरू अहिले पुनः विद्युत आपूर्ति समस्याबाट जुध्न बाध्य छन् ।
“२४ घण्टामै १४–१५ पटकसम्म ट्रिपिङ्ग हुनुले उद्योगहरू अत्यन्त प्रभावित भएका छन् । उत्पादन लागत बढेको छ र प्रतिस्पर्धात्मक क्षमता घटेको छ” संघका एक प्रतिनिधिले बताए । डिजेल जेनरेटरबाट उद्योग चलाउँदा खर्च अत्यधिक हुने र साना उद्योगहरू त बन्द नै गर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।
संघको धारणा छ कि यदि विद्युत आपूर्ति पूर्ण रूपमा गर्न नसकिने हो भने, कम्तिमा निश्चित समय तालिका बनाई बाँकी समयमा स्थिर र गुणस्तरीय आपूर्ति सुनिश्चित गर्नुपर्छ । हिउँद याममा हरेक वर्ष देखिने विद्युत संकटको दीर्घकालीन समाधानका लागि संघले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ ।
“उद्योगहरूले प्रयोग गरेको विद्युतको महसुल समयमै तिर्दा पनि सोहीअनुसारको सेवा नपाउनु दुर्भाग्यपूर्ण हो । विद्युत प्राधिकरणले महसुल उठाउने ढंगमा नै गुणस्तरीय सेवा दिनुपर्छ,” संघको भनाइ छ ।
संघले वर्तमान समस्या र अनिश्चित अवस्थाको शीघ्र समाधान गर्न जोडदार माग गर्दै नेपाल विद्युत प्राधिकरणसँग वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।