"नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने मलाई लाग्छ," नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चितवनमा पत्रकारहरूसँगको कुराकानीमा यस्तो भन्दै राजनीतिक वृत्तमा नयाँ सरकार गठनको संकेत गरेका छन्।
प्रचण्डले पछिल्लो घटनाक्रम र ‘नयाँ अनुभव’का आधारमा वर्तमान सरकार दीर्घकालीन नहुने संकेत गर्दै राजनीतिक शक्तिहरूबीच नयाँ समीकरणको सम्भावना औंल्याएका हुन्।
सरकारमाथि बढ्दो जनआक्रोश
उनका अनुसार वर्तमान सरकारले जनताका गम्भीर समस्याप्रति संवेदनशीलता नदेखाएकाले असन्तुष्टि बढ्दै गएको छ।
“सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा देखिइराख्या छ,” उनले भने, “सरकारमा रहेका दलहरू पनि झन्डैझन्डै सडकमा छन्।”
विभिन्न आन्दोलन—शिक्षक, स्वास्थ्यकर्मी, सहकारी तथा लघुवित्त पीडितहरू—जारी रहेको वर्तमान अवस्थामा सत्तारूढ गठबन्धनभित्र पनि असन्तोष चुलिएको प्रचण्डको भनाइ छ।
सत्ता रुचि होइन, परिस्थिति बलियो कारक
प्रचण्डले आफू र माओवादी केन्द्रको ध्यान सरकारमा जाने भन्दा पनि परिस्थितिको मूल्यांकनमा केन्द्रित रहेको प्रष्ट पारे।
“सरकारतिर त्यति ध्यान हाम्रो चाहिँ छैन,” उनले दोहोर्याए।
उनले नेपाली कांग्रेस नेतृत्वको सरकार नै अहिलेको सन्दर्भमा उपयुक्त हुने बताएका छन्। आफूले पहिले नै कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्मरण गराउँदै उनले थपे, “नयाँ अनुभवसहित अब देश त्यही दिशातिर जाने संकेत देखिएको छ।”
स्पष्ट जवाफभन्दा संकेतपूर्ण शैली
पत्रकारहरूले सत्ता समीकरणबारे प्रष्ट जवाफ माग्दा प्रचण्डले बढी नबोल्न आग्रह गर्दै संकेतपूर्ण जवाफ दिए।
“केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो,” भन्दै उनले मुलुक राजनीतिक संक्रमणको मोडमा रहेको इशारा गरे।