हङकङ टी२०आई सिरिजको फाइनलमा बसिर अहमद र नन्दन यादवको ऐतिहासिक साझेदारीपछि पनि नेपाल उपाधि जित्न असफल भयो। आइतबार हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा सम्पन्न फाइनल खेलमा नेपाल कुवेतसँग ३ रनले पराजित हुँदै उपविजेतामा सीमित रह्यो।
१७५ रनको चुनौती पछ्याउने क्रममा नेपाल १९.३ ओभरमा १७१ रनमै अलआउट भयो। ९२ रनमा ८ विकेट गुमाइसकेको अवस्थामा बसिर र नन्दनले नवौँ विकेटका लागि टी२०आईमा नेपालको अहिलेसम्मकै उच्च ७२ रनको साझेदारी गर्दै अप्रत्यासित जितको सम्भावना जगाएका थिए।
बसिरको जीवन्त पारी, तर अन्तिममा निराशा
बसिरले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनको शानदार पारी खेले। तर अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक रहेको अवस्थामा उनले नो बलमा प्रहार गरिएको छक्का मारेर खेल नेपालको पक्षमा ल्याए। त्यसपछि ६ बलमा ४ रन आवश्यक हुँदा उनले लगातार दुई बल डट खेले, र तेस्रो बलमा क्याच आउट भएपछि नेपालको जितको आशा समाप्त भयो।
नन्दन यादवले पनि आक्रामक १४ बलमा २ चौका र ४ छक्कासहित ३७ रन बनाएर बसिरलाई उत्कृष्ट साथ दिएका थिए। तर बाँकी ब्याटरहरूले निराशाजनक प्रदर्शन गरे—बसिफ शेख बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्।
कुवेतको फाइदा : बलिङ र फिनिसिङ
कुवेतका लागि अनुदिन चिन्थामाराले निर्णायक ओभर बलिङ गर्दै ३ विकेट लिए। यासिन पटेल र नभिनराज राजेन्द्रनले समान २ विकेट लिएर नेपाली ब्याटिङ लाइनलाई ध्वस्त बनाएका थिए।
यसअघि, कुवेतले टस जितेर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। ओपनर राजिभा सान्दारुवानले ६३ रन बनाउँदै कुवेतको सुरुवात बलियो बनाएका थिए। पावर प्लेमै ७१ रन जोडेको कुवेत ९ ओभरमै १०० रन पुगेको थियो। तर, नेपाली बलरहरूको पुनरागमनले कुवेतलाई २०० को सम्भावित स्कोरबाट रोकेर १७४ रनमै सीमित गर्यो।
नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए भने करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।