खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्रालयले सोमबार गरेको छड्के अनुगमनमा मेलम्ची खानेपानी विकास समितिका १६ जना कर्मचारी कार्यस्थलमा अनुपस्थित भेटिएका छन्। पछिल्लो समय सरकारी कार्यालयमा कर्मचारीको उपस्थिति र कार्य शिथिलताबारे आएका गुनासोका बीच मन्त्री प्रदीप यादव आफैं टोलीसहित निरीक्षणमा निस्केका थिए।
मन्त्री यादवसँगै सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी लगायतको टोलीले बिहानै खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सबै शाखाहरूमा एकाएक अनुगमन गरे। विभागमा सबै कर्मचारी हाजिर रहे पनि मेलम्ची समितिमा उल्लेख्य अनुपस्थिति देखिएको मन्त्रालय स्रोतले जनाएको छ।
अनुपस्थित कर्मचारीमाथि कारबाही संकेत, विद्युतीय प्रणालीमा जोड
छड्के निरीक्षणपछि मन्त्री यादवले समयपालना र नियमिततामा सुधार गर्न निर्देशन दिएका छन्। विशेषतः मेलम्ची खानेपानी विकास समितिमा भेटिएको अनुशासनहीनता प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै मन्त्री यादवले अबदेखि विद्युतीय हाजिरी प्रणाली वैशाख २ गतेदेखि अनिवार्य गरिने बताए।
साथै, कार्यालय समयभित्र बाह्य काममा निस्कनुपरेमा ‘लकबुक’ मा विवरण राख्नुपर्ने व्यवस्था पनि गर्न निर्देशन दिइएको सहसचिव पुरीले जानकारी दिए।
‘कर्तव्यपालन नगर्ने कर्मचारीलाई छुट छैन’ : मन्त्री यादव
मन्त्री यादवले अनुगमनका क्रममा कार्यालयमै उपस्थित कर्मचारीहरूसँग संवाद गर्दै काममा देखिने व्यवहारिक समस्या, श्रोत–साधनको अवस्था र आवश्यकता बारे बुझेका थिए। “जनताको अपेक्षा बोकेर मन्त्रालय आएको हुँ। कर्तव्यमा चुक्नेलाई छुट दिइने छैन,” मन्त्री यादवले कर्मचारीहरूलाई चेतावनी दिँदै भनेका थिए।
अनुगमन अभियानलाई निरन्तरता दिइने
मन्त्रालयले यस्तो छड्के अनुगमनलाई एकपटकको कारवाही नभई निरन्तर प्रक्रियाका रूपमा अघि बढाइने जनाएको छ। यो कदमले सरकारी निकायभित्रको कार्यशैली सुधार्ने अपेक्षा गरिएको छ।
यस प्रकारको अनुगमनले जनताको विश्वास जित्न र कर्मचारीको कार्यनिष्ठामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास मन्त्रालयले लिएको छ।