शनिबार हनुमान जयन्तीका अवसरमा वीरगञ्जमा आयोजित शोभायात्रा क्रममा दुई पक्षबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावलाई सम्बोधन गर्न सर्वदलीय बैठकले पाँच बुँदे सहमति गर्दै सामाजिक सद्भाव कायम राख्ने कसम खाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा आइतबार सम्पन्न उक्त बैठकमा राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक संस्था, नागरिक समाज र स्थानीय प्रशासनका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकले ‘शान्ति अब भाषण होइन, कार्यनीति बनोस्’ भन्ने सन्देश दिँदै ठोस निर्णय सार्वजनिक गरेको छ।
पाँच बुँदामा के के छ?
दोषी उम्किन पाउने छैनन्
शनिबारको झडपमा संलग्नलाई विस्तृत छानबिनमार्फत कानूनी दायरामा ल्याइने र आवश्यक कारबाही गरिने बताइएको छ। दोषीमाथि कठोर कदम चाल्ने सर्वसम्मत प्रतिबद्धता सार्वजनिक गरिएको छ।
साम्प्रदायिक सौहार्दमा समझदारी
सबै पक्षले आपसी सद्भाव र शान्ति कायम राख्ने प्रतिवद्धता जनाउँदै, कानूनी प्रक्रियामा सहयोग गर्ने सहमति गरेका छन्।
घाइतेको उपचार र क्षतिपूर्ति
झडपमा घाइते भएकाहरूको निःशुल्क उपचार गरिने र निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन प्रशासनले पहल गर्ने निर्णय गरिएको छ।
धार्मिक कार्यक्रममा हातहतियार निषेध
अबदेखि कुनै पनि धार्मिक, सांस्कृतिक वा साम्प्रदायिक कार्यक्रममा हातहतियार देखाउने, बोकेर हिँड्ने वा प्रदर्शन गर्ने कार्य पूर्ण निषेध हुनेछ। उलंघन भए कडा कानूनी कारबाही हुनेछ।
धार्मिक संस्थाहरूको निगरानी कडा बनाइने
जिल्लाभित्र सञ्चालनमा रहेका सबै धार्मिक संघसंस्था, मदरसा, विद्यालयहरूलाई सूक्ष्म अनुगमनमा राखिने र अव्यवस्थित वा शंकास्पद गतिविधि देखिएमा तत्काल कारबाही गरिने निर्णय भएको छ।
प्रमुख जिल्ला अधिकारीको चेतावनी
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैठकपछि सम्बोधन गर्दै भने, "हामी अब नारा होइन, परिणाम चाहन्छौँ। दोषीलाई कुनै हालतमा उन्मुक्ति दिइने छैन। सबै पक्ष संयमतासाथ अघि बढ्न तयार छन् भन्ने आशा लिएको छु।"
यो सहमति अब कागजमा मात्र सीमित नरहुन् भन्ने आम जनचासो छ। वीरगञ्जमा अहिले पनि सतर्कता कायम छ र कर्फ्यूका बीचमा शान्ति पुनःस्थापनाको प्रयासमा प्रशासन सक्रिय छ।