शनिबार हनुमान जयन्तीको शोभायात्रामा भएको हिंसात्मक झडप र प्रशासनद्वारा लगाइएको कर्फ्यूले यस वर्षको नयाँ वर्षको उत्सवमा ठूलो असर पुर्याएको छ। कर्फ्यूले वीरगञ्जका स्थानीय बासिन्दाहरूसँगै व्यापार, पर्यटन र सामाजिक जीवनमा पनि असर पुर्याएको छ।
शनिबारको झडपले माहौल तनावपूर्ण बनाएपछि प्रशासनले शान्ति कायम राख्नका लागि कर्फ्यूको आदेश जारी गर्यो। यस कारण स्थानीयवासीले नयाँ वर्षको परम्परागत उल्लास र खुशीका अवसरहरूलाई स्थगित गर्नुपर्ने अवस्था आएको छ।
स्थानीयको व्यथा
वीरगञ्जका स्थानीय बासिन्दा, राजु यादवले नयाँ वर्षको महत्त्व स्पष्ट गर्दै भने, ‘नयाँ वर्ष हाम्रो परम्परा र सांस्कृतिक उत्सवको हिस्सा हो। परिवारसँग समय बिताउनु र मेलामा जानु हाम्रो प्रचलन हो। तर, अहिलेको स्थिति असहज बन्यो। प्रशासनले शान्ति कायम राख्न कर्फ्यू लगाएको छ, तर यसले हाम्रो खुशीको क्षणलाई ठूलो धक्का पुर्याएको छ।’
त्यस्तै अनिता कुर्मीले निराश हुँदै भनिन्, ‘नयाँ वर्षको महत्व हाम्रो परिवार र धार्मिक आस्थामा आधारित छ। यद्यपि हिंसात्मक घटनाले गर्दा अहिले कर्फ्यू जस्ता कठिन परिस्थितिहरू बनेका छन्। अब स्थिति सामान्य बनोस्, ताकि हामीले कम्तिमा परिवारसँग समय बिताउन सकेौं।’
कर्फ्यू र प्रशासनको कदम
शनिबारको झडपपछि प्रशासनले कर्फ्यूको आदेश जारी गरेको थियो जसले वीरगञ्जका नागरिकहरूलाई घरमा बस्न बाध्य बनाएको छ। कर्फ्यूको कारण स्थानीय व्यापार र व्यवसायीहरूको दैनिकीमा ठूलो असर परेको छ। दीपक शर्मा, एक स्थानीय व्यापारी, भने, ‘नयाँ वर्षको अवसरमा हाम्रो व्यापार बढ्ने आशा थियो। तर अहिले कर्फ्यूको कारण सबै व्यापार ठप्प छ। हामी प्रशासनको कदमलाई समर्थन गर्छौं, तर यसले हाम्रो आर्थिक अवस्था पनि प्रभावित गरेको छ।’
सामाजिक सञ्जाल र अफवाहको प्रभाव
सामाजिक सञ्जालमा फैलिएका अफवाह र भ्रामक जानकारीहरूले घटनालाई झन जटिल बनाएको छ। प्रशासनले यस विषयमा सचेत रहन र यस्ता सामग्रीलाई सेयर नगर्न आग्रह गरेको छ। अफवाहहरूले स्थिति तनावपूर्ण बनाएको छ र यसले नयाँ वर्षको उत्सवमा रमाइलो गर्न चाहने समुदायमा असन्तोष बढाएको छ।
प्रशासनको प्रतिबद्धता
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ूहामी सबै पक्षसँग छलफल गरेर शान्ति कायम राख्नका लागि कडा कदम चालिरहेका छौं। कर्फ्यूको अवधि आइतबार राति १२ बजेसम्म कायम राखिनेछ र त्यसपछि स्थिति मूल्याङ्कन गरेर थप निर्णय लिइनेछ। हामी सबै समुदायलाई संयमित रहन र सामाजिक सद्भाव कायम राख्न अनुरोध गर्छौं।ू
सामाजिक सद्भावको आवश्यकता
वीरगञ्जका स्थानीय बासिन्दा अहिले शान्ति र सामाजिक सद्भावको आवश्यकता महसुस गर्दै स्थिति सामान्य बन्ने आशामा छन्। प्रशासनको सक्रियता र सर्वपक्षीय सहमतिका कारण शान्ति कायम राख्ने प्रयास जारी रहेको विश्वास व्यक्त गरिएको छ। यसले आगामी दिनहरूमा नयाँ वर्षको उत्सवलाई पुनः सुरक्षित र उल्लासपूर्ण बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।