इराकको मध्य तथा दक्षिणी भागमा गएको भीषण डस्ट स्टर्म (धूलो आँधी)का कारण एक हजारभन्दा बढी मानिसहरूमा सास फेर्ने समस्या देखिएको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार मुथन्ना प्रान्तमा मात्रै ७०० जना नागरिकलाई “श्वासप्रश्वासमा समस्या” देखिएको पुष्टि गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडिओहरूमा सडक, बस्ती र आकाशसम्म घना सुनौलो धूलोको कुहिरोले ढाकिएको देखिन्छ। स्थानीय सञ्चार माध्यमका अनुसार आँधीका कारण केही क्षेत्रहरूमा विद्युत् अवरुद्ध भएको छ भने नजाफ र बसरा प्रान्तमा हवाई उडानहरू स्थगित गरिएका छन्।
मुथन्ना प्रान्तका अस्पतालहरूमा श्वासप्रश्वासका समस्या भएका बिरामीहरूको भीड लागेको छ। नजाफमा २५० भन्दा बढी र दिवानियामा ३२२ जना बिरामीलाई अस्पताल पुर्याइएको छ। त्यस्तै, धी कर र बसरा प्रान्तमा थप ५३० जनालाई सास फेर्न गाह्रो भएको रिपोर्ट गरिएको छ।
डस्ट स्टर्मका कारण दृश्यता एक किलोमिटरभन्दा कम मा झरेको र धेरै स्थानमा सर्वसाधारण तथा सुरक्षाकर्मीहरू मास्क लगाएर हिँडेको देखिएको छ। उद्धारकर्मीहरू तथा स्वास्थ्यकर्मीहरू तत्कालै बिरामीहरूको उपचारमा जुटेका छन्।
इराकमा डस्ट स्टर्म सामान्य रूपमा हुने गरेको भए पनि जलवायु परिवर्तनका कारण यस्ता घटनाहरू बारम्बार हुन थालेका विज्ञहरूको चेतावनी छ। इराकलाई संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका पाँच देशमध्ये एक मानेको छ। देशमा गर्मी लहर, पानीको अभाव र धूलोका दिनहरू लगातार बढिरहेका छन्।
सन् २०२२ मा पनि यस्तै एक आँधीका कारण एक जनाको मृत्यु भएको थियो भने ५,००० भन्दा बढी मानिसलाई स्वास्थ्य उपचार आवश्यक परेको थियो। इराकको वातावरण मन्त्रालयका अनुसार देशले भविष्यमा अझ बढी ‘डस्ट डेज’ भोग्नेछ।
स्थानीय मौसम विभागले मंगलबार बिहानसम्म स्थिति क्रमिक रूपमा सामान्य हुने पूर्वानुमान गरे पनि स्वास्थ्य प्रणालीमा परेको चापले अवस्था अझै गम्भीर बन्न सक्ने अनुमान गरिएको छ। यस्ता आपतकालीन परिस्थितिमा जलवायु अनुकूलन रणनीति तत्काल आवश्यक भएको विज्ञहरू बताउँछन्।