नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको मौजुदा आर्थिक संकटको मूल जड बिचौलिया संस्कृति भएको बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, “बिचौलियाको पहुँच अब प्रधानमन्त्रीको शयनकक्षसम्म पुगेको छ,” र यसै कारण नेतृत्व तहबाटै समस्या सुरु भएको उनले स्पष्ट पारे।
थापाले निजी क्षेत्र र बिचौलिया दुई फरक विषय भएको उल्लेख गर्दै, अहिलेको आर्थिक अवस्था बिग्रनुमा बिचौलियाहरूको चलखेल मुख्य कारण रहेको बताए। "निजी क्षेत्र उत्पादन र लगानीमा आधारित हुन्छ, तर बिचौलिया नाफामुखी सञ्जाल हो," उनले भने।
राष्ट्र बैंकको गभर्नर छनोट प्रक्रियाको उदाहरण दिँदै उनले अघिल्ला दिनहरूमा "यो बन्ला कि ऊ" भन्ने कौतुहलता हुने गरेको स्मरण गरे। तर अहिले भने "बिचौलियाको उम्मेदवार" भनेर खुला रूपमा चर्चा हुने अवस्था आएको भन्दै नीति निर्माण तहमा बिचौलियाको हस्तक्षेप खतरनाक मोडमा पुगेको औंल्याए।
कार्यक्रममा बोल्दै थापाले कांग्रेस सरकारमा सहभागी भएर 'फोहोर सफा गर्न पोखरीमा पसेको' दाबी पनि गरे। “हामी आफै फोहोरमा मिसिन गएका होइनौं, सफा गर्न गएका हौं,” भन्दै उनले सरकारभित्रै रहेर सुधार र परिणाममुखी काम गर्ने प्रयास भइरहेको जनाए।
उनले सरकारको कार्यदक्षता बढाउन कांग्रेसको सक्रियता आवश्यक रहेको बताउँदै, नेतृत्वले अब बिचौलियाहरूको प्रभाव रोक्न दृढता देखाउनु पर्नेमा जोड दिए।
थापाको बयान अहिलेको राजनीतिक र प्रशासनिक ढाँचा सुधारको माग गर्दै आएको कांग्रेसभित्रको सुधारवादी धारको आवाजको रूपमा हेरिएको छ।