हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा शोभायात्राका क्रममा उत्पन्न तनाव र साम्प्रदायिक विद्वेषको घटनालाई लिएर मधेश प्रदेश सरकार र संघीय प्रतिनिधिहरूले शान्ति, संयमता र कानुनी कारबाहीका पक्षमा स्पष्ट र एकीकृत सन्देश दिएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक सद्भावमा खलल पु-याउने कुनै पनि कार्यलाई नबुझिने चेतावनी दिँदै, सो घटनामा संलग्न जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गर्न सुरक्षा निकाय र प्रशासनलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले भने, “वीरगञ्जको धार्मिक, सांस्कृतिक र जातीय विविधता यहाँको पहिचान हो। यस्तो विविधता तोड्न खोज्नु निन्दनीय छ। शान्ति र भाइचारा कायम राख्न सबै पक्ष संयमित रहनुपर्छ।”
उनका प्रेस सल्लाहकार अनिल कुमार कर्णका अनुसार, हालै सम्पन्न सर्वदलीय बैठकले तय गरेको पाँच बुँदे सहमति अनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही अघि बढाइने छ। उनले प्रदेश सरकार शान्ति पुनःस्थापनाका लागि सुरक्षानिकाय र प्रशासनसँग निरन्तर समन्वयमा रहेको जानकारी दिए।
यादवको अपिल : “वीरगञ्ज साझा फुलवारी हो”
त्यसैबीच, संघीय सांसद प्रदीप यादवले पनि सामाजिक सञ्जालमार्फत वीरगञ्जबासीलाई संयमता अपनाउन अपिल गरेका छन्। पाँच दिनपछि सार्वजनिक रूपमा बोलेका यादवले वीरगञ्जलाई “साझा फुलवारी” को संज्ञा दिँदै, सबै समुदायबीचको सद्भाव र मेलमिलाप बचाइराख्न सबै नागरिकको साझा जिम्मेवारी रहेको बताए।
“वीरगञ्जको इतिहास विविधतामा एकता हो,” उनले भने, “समस्या समाधानका लागि संवाद र समन्वयमार्फत अघि बढ्नु आवश्यक छ। उत्तेजक अभिव्यक्ति वा हिंसात्मक कार्यहरूलाई कदापि स्वीकार्न सकिँदैन।”
यादवले स्थानीय प्रशासन, प्रहरी र विभिन्न समुदायका अगुवासँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै, प्रचारमुखी शैलीभन्दा व्यवहारिक संयमता र समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।
संयम र सहकार्य : समाधानको सूत्र
हाल देखिएको परिस्थितिमा मुख्यमन्त्री सिंह र सांसद यादवको संयमित अभिव्यक्ति र समन्वयकारी भूमिका वीरगञ्जको सामाजिक ताना–बाना बचाउने दिशामा सकारात्मक संकेतको रूपमा हेरिएको छ। स्थानीय राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र समुदायहरूबीचको सहकार्यले वीरगञ्जलाई पुनः शान्ति र सद्भावको बाटोमा फर्काउने अपेक्षा गरिएको छ।
शान्ति खलल पार्ने प्रयासलाई कानुनी दायरामा ल्याउने अठोट र सद्भाव बचाउने पहलबीच, वीरगञ्ज फेरि आफ्नो ऐतिहासिक मेलमिलापको परिचय दोहोर्याउने दिशामा अघि बढिरहेको छ।