हनुमान जयन्तीको शोभायात्राका क्रममा वीरगञ्जमा भएको झडपपछि उत्पन्न तनाव र विकसित घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गम्भीर ध्यानाकर्षण भएको छ।
धार्मिक, सांस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको मानवीय कर्तव्य भएको उल्लेख गर्दै मन्त्री गुप्ताले समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षलाई संयम र समझदारी अपनाउन आग्रह गरेका छन्।
मन्त्री गुप्ताका प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा जारी विज्ञप्तिअनुसार, मन्त्री गुप्ता निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायसँग सम्पर्कमा रहेका छन्। घटनामा संलग्न दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउन उनले प्रहरी प्रशासनलाई कडा निर्देशन दिइसकेका छन्।
“कुनै पनि वहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक हो। नागरिकहरूले एकअर्काको धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु नै सहअस्तित्वको आधार हो,” मन्त्री गुप्ताले भनेका छन्।
झडपपछिको अवस्थालाई सम्बोधन गर्न दुवै समुदायका प्रतिनिधि तथा राजनीतिक दलहरू सम्मिलित सर्वदलीय बैठकमार्फत पाँच बुँदे सहमति गरिएको थियो। मन्त्री गुप्ताले उक्त सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्।
मुलुकको प्रमुख औद्योगिक सहर वीरगञ्जमा सामाजिक सद्भावमा खलल ल्याउने जुनसुकै प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै मन्त्री गुप्ताले सबै वीरगञ्जवासीलाई संयमित र सजग रहन अपिल गरेका छन्।