पछिल्ला दिनमा वीरगञ्जमा धार्मिक शोभायात्रालाई लिएर उत्पन्न विवाद र तनावका बीच पर्सामा क्रियाशील प्रमुख राजनीतिक दलहरूले सामाजिक सद्भाव र आपसी शान्ति जोगाउन संयुक्त अपिल गरेका छन्। बुधबार दिउँसो वीरगञ्जमा बसेको सर्वदलीय बैठकपछि जारी गरिएको विज्ञप्तिमा सबै दलले समुदायबीचको सदियौं पुरानो भाईचारा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन्।
शोभायात्रा सम्बन्धी विवादपछि बढेको आपसी मनमुटाव, द्वन्द्व र सामुदायिक असमझदारीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दलहरूले परिस्थिति थप जटिल नबनाओस् भन्ने उद्देश्यले विभिन्न चरणमा समुदाय, सुरक्षा निकाय र सरोकारवालासँग लगातार संवाद र समन्वयमा रहेको जानकारी गराएका छन्।
सर्वदलीय बैठकले अबदेखि कुनै पनि पक्षबाट सामाजिक सद्भाव खल्बल्याउने अभिव्यक्ति वा गतिविधि नगर्न विशेष अनुरोधसमेत गरेको छ। समुदायबीचको ऐतिहासिक मेलमिलाप र सहअस्तित्वलाई कमजोर बनाउने प्रयत्न कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट गर्दै दलहरूले संयम र समझदारीमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेकपा एमालेका अध्यक्ष डा. विश्वम्भर शर्मा, रास्वपाका हरि पन्त, जसपाका रामनरेश यादव, नेकपा एकिकृत समाजवादीका बालगोपाल थापा, जनमत पार्टीका ओमप्रकाश सर्राफ, राप्रपाका पन्नालाल पटेल र जसपाका तबरेज अहमदको उपस्थिति रहेको थियो।
सर्वदलीय बैठकबाट प्राप्त साझा सन्देशले समुदायबीचको तनाव कम गर्न र संवादको बाटोबाट समाधान खोज्न सकारात्मक संकेत दिएको छ।