बर्नबेउको स्टेडियम, जुन कहिल्यै नथाक्ने रियल मड्रिडको ‘कमब्याक कथा’ को साक्षी रहँदै आएको छ, बुधवार राति भने अर्कै कथा लेखियो—अन्त्य, लाज र नयाँ यथार्थको।
च्याम्पियन्स लिगको दोस्रो लेगमा आर्सनलसँगको खेलअघि ‘रेमोन्टाडा’ शब्द हरेक मड्रिड समर्थकको ओठमा झुण्डिएको थियो। तर ३-० को पहिलो लेगको हारपछि त्यो सपना मैदानमै चकनाचुर भयो।
भिनिसियस जुनियरले बुकायो साकाको गोलको तुरुन्तै जवाफ दिए पनि त्यो केवल एक झिल्को थियो। बाँकी पुरै खेलमा रियल मड्रिडले आर्सनलको ठुलो अग्रतालाई चुनौती दिने कुनै संकेत देखाएन।
बरु अन्त्यतिर ग्याब्रियल मार्टिनेलीले थप एक गोल गर्दै आर्सनललाई २-१ को ऐतिहासिक जित दिलाए। समग्रमा ५-१ को लज्जास्पद हारसहित रियल मड्रिड प्रतियोगिताबाट बाहिरियो।
यो नतिजासँगै आर्सनल पहिलोपटक बर्नबेउमा लगातार दुई खेल जित्ने टोली बन्यो। अर्कोतर्फ, रियल मड्रिड पछिल्ला १२ सिजनमा तेस्रो पटक मात्र सेमिफाइनल पुग्नबाट चुक्यो।
खेलपछि प्रशिक्षक कार्लो एन्सेलोटीले भने, “हामीसँग उज्यालो र अँध्यारो दुवै पाटा छन्। यो अँध्यारो क्षण हो, तर हामीसँग अझै तीन प्रतियोगिता बाँकी छन्।”
तर स्पेनिश फुटबल विश्लेषक गिलेम बालागे स्पष्ट छन्, “रियल मड्रिड अब दोबाटोमा उभिएको छ। टोलीमा पुनर्संरचना आवश्यक छ। यो हारले नयाँ अध्याय सुरु गर्ने सन्देश दिएको छ। एन्सेलोटीका लागि अब बिदा लिने समय नजिकिएको देखिन्छ।”