"सार्वजनिक स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि मापदण्ड पूरा नगरेका सबै स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिएको छु," मुख्यमन्त्री सतीशकुमार सिंहले गएराति स्पष्ट पारे।
सर्लाहीको प्रमुख व्यापारिक केन्द्र बरहथवामा स्वास्थ्य सेवा संस्थाहरूले मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेका थिए, जसका कारण मुख्यमन्त्री सिंहले ११ वटा निजी अस्पताल र पोलिक्लिनिकको अनुगमन पछि ती सबै संस्थालाई बन्द गर्न आदेश दिएका हुन्।
सङ्कटमोचन अस्पताल, सन्जिवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल लगायतका अस्पतालहरू अवैध रूपमा सञ्चालनमा रहेका पाइएपछि मुख्यमन्त्री सिंहले तत्काल कानूनी प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार, "यी सबै अस्पताललाई पत्र काटेर तत्काल बन्द गर्न निर्देशन दिइएको छ र दर्ता प्रक्रिया पूरा गरेर मात्र पुनः सञ्चालन गर्न अनुमति दिइनेछ।"
मङ्गलबार साँझ गोल्डेन अस्पतालमा उपचारका लागि आएका एक बिरामीसँग ठूलो बील उठाइएको भन्दै विरोध उत्पन्न भएको थियो। त्यस घटनापछि मुख्यमन्त्री सिंह बरहथवा पुगेर अस्पतालको अनुगमन गरेका थिए।
यसअघि पनि मुख्यमन्त्री सिंहले नवलपुर, लालबन्दी र मलङ्गवाका निजी अस्पतालहरूको अनुगमन गर्दै मापदण्ड पूरा नगरेका अस्पताललाई बन्द गर्न निर्देशन दिएका थिए।
"अस्पतालहरूले मापदण्ड पूरा नगरेका कारण चौतर्फी गुनासो उठिरहेको छ," मुख्यमन्त्री सिंहले भने।