राजतन्त्रको अन्त्य र गणतन्त्रको विजयलाई स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘युवा महोत्सव’ मा सहभागिता जनाउन देशभरका नागरिकलाई आव्हान गरेका छन्।
बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०६३ सालको वैशाख ११ लाई ‘जनताका अधिकार फर्किएको ऐतिहासिक क्षण’ का रूपमा स्मरण गरे।
“हिजो रैती बनाइएको जनताले त्यो अवस्थालाई उल्ट्याएर अधिकार हातमा लिएका दिन हो वैशाख ११,” ओलीले भने, “त्यस दिनलाई हामीले उत्सवका रूपमा मनाउँदैछौँ, युवा महोत्सवका रूपमा। त्यसमा सबैको सहभागिता आवश्यक छ।”
प्रधानमन्त्री ओलीले नेकपा एमालेको नीतिगत स्पष्टता र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता दोहोर्याउँदै, सङ्क्रमणकालीन न्यायलाई निष्पक्षरूपमा निष्कर्षमा पुर्याउने अठोट पनि व्यक्त गरे।
“अमानवीय र जघन्य अपराध माफ हुन सक्दैन,” उनले स्पष्ट पार्दै भने, “सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको खोजबिन आयोगमार्फत पीडितलाई न्याय दिइनेछ।”
प्रधानमन्त्री ओलीले अहिलेको सत्ता संरचनालाई प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जितका रूपमा व्याख्या गर्दै, “विकास र समृद्धिको युग सुरु भइसकेको छ, एमाले त्यसको अगुवा हो,” भनेर सरकारको कामप्रति विश्वास दिलाए।
भूतपूर्व सुरक्षाकर्मीहरूलाई सम्बोधन गर्दै उनले राष्ट्रिय एकता र सामाजिक सद्भावको आवश्यकता औंल्याए, “संगठनले राष्ट्र र पार्टीप्रतिको बफादारी अझ मजबुत पार्नुपर्छ,” भन्दै गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने आह्वान गरे।