वीरगन्जमा भएको पछिल्लो साम्प्रदायिक घटनालाई लिएर प्रहरी प्रशासनको भूमिकाप्रति आक्रोश व्यक्त गर्दै इस्लामी संघ नेपालले बिहीबार गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। संघले मुस्लिम समुदायको जनधनको क्षति भइरहँदा सुरक्षा निकायको निष्क्रियता गम्भीर चिन्ताको विषय भएको स्पष्ट पारेको छ।
संघका अध्यक्ष नजरुल हसन फलाहीको नेतृत्वमा गृह मन्त्रालय पुगेको मुस्लिम अगुवाहरूको टोलीले यस्ता घटना अचानक नभई योजनाबद्ध ढंगले भइरहेको दाबी गर्दै दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेका छन्।
“नेपालमा मुस्लिम समुदायको गौरवपूर्ण इतिहास छ। तर, केही असामाजिक तत्वहरूले बारम्बार हाम्रो समुदायको सद्भाव र राष्ट्रप्रेममा आघात पुर्याउने प्रयास गर्दै आएका छन्,” ज्ञापनपत्रमा भनिएको छ।
संघका अनुसार सामान्य विवादलाई पनि साम्प्रदायिक रंग दिइ समाजमा सद्भावपूर्वक बस्दै आएको मुस्लिम समुदायलाई लक्षित गर्नु दुःखद र आपत्तिजनक छ। वीरगन्ज, सर्लाही, नेपालगञ्ज लगायतका क्षेत्रमा पटक–पटक यस्ता घटना दोहोरिनु गम्भीर संकेत भएको संघको भनाइ छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओ र विवरणहरूमा कुटपिट, तोडफोड, गालीगलौज, डरधम्की र हतियार देखाउनेजस्ता क्रियाकलाप खुलेआम देखिएकाले तराई–मधेशमा बसोबास गर्ने मुस्लिम समुदाय त्रसित भएको जनाइएको छ।
संघले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याई सख्त कारबाही गर्न र यस्ता सभा, जुलुस तथा र्यालीहरूलाई सुरक्षात्मक रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ।
ज्ञापनपत्र बुझाउने टोलीमा मुस्लिम आयोगका कार्यकारी अध्यक्ष मोहम्दीन अली, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य ताजमोहम्मद मियाँ, पूर्व राज्यमन्त्री मोहम्मद जाकिर हुसेन, संविधानसभा सदस्य जुनैद अन्सारी, मुस्लिम महिला अधिकारकर्मी सिमा खानलगायतको उपस्थिति थियो।