मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बिहीबार अबेर साँझ सिरहास्थित प्रादेशिक अस्पतालमा अनपेक्षित रूपमा उपस्थित हुँदै ‘छड्के निरीक्षण’ गरेका छन्। आकस्मिक कक्षदेखि विशेषज्ञ सेवासम्मको स्थलगत अवलोकन गर्दै उनले अस्पतालको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।
अस्पतालको जनशक्ति, औषधि तथा उपकरणको अवस्था, सेवा प्रवाहको गुणस्तर र तत्परता जाँच्दै मुख्यमन्त्रीले जनतामाझको निराशालाई कम गर्न स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता दिने संकेत दिएका छन्। निरीक्षणपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले प्रदेश सरकारले आवश्यकता र सम्भाव्यता अनुसार बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
‘छोटो सिरकमा आठ जिल्लाको स्वास्थ्य’: बजेट चुनौती स्वीकार
मुख्यमन्त्री सिँहले प्रदेशको कमजोर आर्थिक हैसियतप्रति इशारा गर्दै आठवटै जिल्लाका स्वास्थ्य संस्था सन्तुलनमा ल्याउन कठिनाइ रहेको स्वीकारे। "सिरहा अस्पतालका लागि धेरै ठूलो रकम छुट्याउन सक्ने अवस्था छैन, तर आवश्यकता अनुसार बजेट बिस्तार गर्दै जान्छौं," उनले स्पष्ट पारे।
विशेषज्ञ चिकित्सक र संरचनागत सुधारमा प्राथमिकता
अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री सिँहले तत्काल स्वास्थ्य निर्देशनालयमार्फत आवश्यक जनशक्ति व्यवस्थापन गरिने र दीर्घकालीन योजना अनुसार क्रमिक रूपमा सुधार गरिने जानकारी दिए।
‘एक बिरामी, धेरै कुरुवा’ संस्कृतिप्रति कटाक्ष
अस्पतालको सेवा प्रभावकारिता व्यवस्थापनमा नागरिक सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै उनले सरसफाइदेखि अनुशासनसम्मका पक्षमा अस्पताल प्रशासन मात्र होइन, सेवाग्राही आफैं पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए। “एकै बिरामीमा धेरै कुरुवा हुँदा अस्पतालमै अनावश्यक चाप बढ्छ,” भन्दै उनले जनचेतनाको आग्रह समेत गरे।
स्वास्थ्य सेवामा ‘कार्य शैली परिवर्तन’ को संकेत
यो निरीक्षणले मधेश प्रदेश सरकार अब ‘टेबलमै सीमित योजना’ होइन, कार्यान्वयनतर्फ उन्मुख भएको संकेत दिएको विश्लेषकहरूको बुझाइ छ। सिँहको रातको अनुगमनले स्वास्थ्य क्षेत्रमा ‘हेपिएको’ जनताको आवाज मुख्यमन्त्रीसम्म पुगेको अनुभूति दिलाएको छ।