वीरगञ्जमा केही दिनअघि उत्पन्न साम्प्रदायिक तनावसँगै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शाखाले आइतबार सार्वजनिक गरेको एक विज्ञप्तिमा समाचार संकलनको क्रममा सञ्चारकर्मीमाथि भएको दुव्र्यवहार, आक्रमण र धम्कीपूर्ण व्यवहारको श्रृंखला अझै रोकिएको छैन भन्दै चिन्ता व्यक्त गरिएको छ। साथै, स्थानीय प्रशासनबाट सञ्चार सामग्रीमा हस्तक्षेप हुनु प्रेस स्वतन्त्रतामै प्रहार भएको महासंघको ठहर छ।
महासंघका केन्द्रीय सचिव तथा पूर्व जिल्ला अध्यक्ष अशोक तिवारी सञ्चालक रहेको ए न्यूज टेलिभिजनमा वैशाख ६ गते प्रसारण हुने कार्यक्रम रोक्न स्थानीय प्रशासनले गरेको दवावलाई प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघनको संज्ञा दिइएको छ।
प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढ्नुपर्ने
विज्ञप्तिमा भनिएको छ, “यदि कुनै सामग्रीप्रति असहमति वा आपत्ति छ भने त्यसको समाधान कानुनी प्रक्रिया र प्रेस काउन्सिलमार्फत खोजिनुपर्छ। तर, सिधै प्रशासनको हस्तक्षेप स्वीकृत योग्य छैन।”
त्यस्तै, शाखाका सदस्य सुरेश बिडारीले लेखेको समाचारलाई लिएर सामाजिक सञ्जालमा गरिएको अपशब्द र गालीगलौजप्रति महासंघले आपत्ति जनाएको छ। “यसरी सञ्चारकर्मीको चरित्र हत्या गर्ने कार्य निन्दनीय छ, संलग्न जोसुकै भए पनि कानूनी कारबाहीको दायरामा ल्याइनुपर्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
सञ्चारमाध्यम सचेत, तर स्वतन्त्रतामाथि प्रहार नगर्न आग्रह
महासंघले सामाजिक सद्भाव कायम राख्न सबै पक्षको भूमिका सकारात्मक र संयमित हुनुपर्ने उल्लेख गर्दै सञ्चारमाध्यम स्वयं पनि संवेदनशील हुनुपर्नेमा जोड दिएको छ। तर, यही बहानामा स्वतन्त्र प्रेसको अवधारणामै प्रहार गर्ने कार्य नहुनुपर्ने र त्यस्ता गतिविधि नगरिन तथा नगराइदिन महासंघले सबैलाई सचेत गराएको छ।
विज्ञप्तिमा यस्ता हस्तक्षेप र मानसिक दबाब दोहोरिएमा महासंघ कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।