कर्नाटक राज्यका पूर्व प्रहरी महानिदेशक (डीजीपी) ओम प्रकाशको हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन्। घटनाको तुरुन्तपछि उनकी पत्नी पल्लवीले आफ्नी एक साथीलाई भिडियो कल गर्दै भनिन्, “मैले राक्षसलाई मारेकी हुँ।” उक्त बयानले प्रहरी अनुसन्धानमा महत्वपूर्ण मोड ल्याएको छ।
हत्या अघि अनुहारमा मिर्चे पाउडर छर्किएर चाकु प्रहार
प्रहरी अनुसन्धान अनुसार, पल्लवीले ओम प्रकाशमाथि चाकु प्रहार गर्नु अघि उनको अनुहारमा मिर्चे पाउडर छर्किएकी थिइन्। मिर्चे पाउडरका कारण तीतोपन र जलन महसुस गर्दै ओम प्रकाश घरभित्र इधर-उधर भागिरहेका बेला पल्लवीले उनीमाथि क्रमशः चाकु प्रहार गरिन्, जसको कारण घटनास्थलमै उनको मृत्यु भएको हो।
पत्नी र छोरी प्रहरी हिरासतमा
घटनापछि पल्लवी र छोरी कृति दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ओम प्रकाशको शव बेंगलुरुस्थित तीन तले घरको भुइँतलामा रगतले लतपतिएको अवस्थामा फेला परेको थियो।
घरेलु विवाद र जग्गा झगडा हत्या पछाडिको कारण
प्रहरी स्रोतहरूका अनुसार, ओम प्रकाश र उनकी पत्नीबीच नियमित झगडा हुने गर्थ्यो। पीटीआईको रिपोर्ट अनुसार, हत्या पछाडिको मुख्य कारण कर्नाटकको दान्देलीमा रहेको एउटा जग्गा विवाद हुन सक्ने आशंका गरिएको छ।
पल्लवीले केही महिना अघि एचएसआर लेआउट प्रहरी चौकीमा उजुरी दर्ता गराएकी थिइन्। प्रहरीको बेवास्तापछि उनले चौकीकै अगाडि धर्ना समेत दिएको थिइन्।
मानसिक समस्या पनि हत्या कारण?
अनुसन्धानमा यो पनि खुलेको छ कि पल्लवी ‘सिजोफ्रेनिया’ नामक मानसिक रोगबाट पीडित थिइन् र उनले नियमित औषधी सेवन गरिरहेकी थिइन्। मानसिक असन्तुलनकै कारण उनले यस्तो हिंसात्मक कदम चालेकी हुन सक्ने आशंका गरिएको छ।
ओम प्रकाशको पृष्ठभूमि
ओम प्रकाश भारतको बिहार राज्यस्थित चम्पारणका मूल निवासी थिए। उनी सन् २०१५ को मार्च १ मा कर्नाटक राज्यका प्रहरी महानिदेशक पदमा नियुक्त भएका थिए। उनले आफ्नो सेवा अवधिमा कर्नाटक प्रहरी विभागमा उल्लेखनीय योगदान दिएका थिए।