महिलाले कमाउनु पर्छ भन्ने सोच कसरी आयो ?
सानो छदाँ केही गर्छु पैसा कमाउ भन्ने इच्छा थियो । आफ्नो व्यक्तिगत खर्च जिवन निर्वाह गर्न कसैसंग हाथ फैल्याउन नपरोस् भन्ने थियो । गाउँघरमा आमा,काकीहरुले आफ्नो श्रीमानसँग पैसा माग्दा झपारेको देख्दा उहाँहरुले मन लागेको कुराहरु किन्न नपाउँदा, मन लागेको ठाउँमा जान नपाउँदा त्यो देख्दा मेरो जिवनमा यस्तो नहोस । म दुई पैसा कमाउन सकु मलाई इच्छा लागेका कुरा आफै खर्च गर्न सकु भनेर लाग्थ्यो । आमा, दिदीबहिनीले दिनभरी मेलापात गर्ने, खेत रोप्न जाने, गाई भैँसी पाल्ने, घाँस काट्ने, दुध दुहने, दुध बेच्ने कृषि व्यवसाय गर्थे । म पनि उहाँहरुसँगै खेतमा काम गर्न जान्थे । बेरोजगारी त्यहाँ महिलाहरु थिएनन् । तर कृषि व्यवसायबाट आएको पैसा घरका पुरुषहरुले लिने चलन थियो । महिलाहरुको श्रमको मूल्य थिएन । घरका पुरुष सदस्यहरुले खटाएर दिएको पैसा मात्र चलाउन पाइन्थ्यो । आफूलाई चाहे जतिको पैसा चलाउन पाइदैनथ्यो । त्यो देखेर आफ्नो लागि पैसा कमाउनु पर्छ भन्ने सोच आयो ।
जिवन राम्रो कसरी हुने रहेछ ?
जिवन आफैले राम्रो बनाउनु पर्ने रहेछ । जस्तो सुकै स्थितिमा पनि खुशी हुनु सक्नु पर्छ । जीवन जिउन जान्नु पर्छ । खुशी हुनको लागि पैसा वा समानको आवश्यक छैन । मनमा सुखी, आन्नद र सन्तुष्टि हुनु नै सबै भन्दा राम्रो रहेछ । जे छ त्यसमा रमाउने सक्यो भने राम्रो हुन्छ । जो रमाउन सक्दैन मानिसको त्यही कमजोरी हो । एक किसिमको चिन्तन पनि हो के गर्दा खुशी हुन्छ । आफ्नो आम्दानी अनुसारको खर्च गर्न जान्नु पर्छ । जे छ त्यसमा रमाउन सक्नु पर्छ । अरुको देखासेखी गर्नु हुदैन ।
व्यवसाय गर्दा कस्तो चुनौतिहरु आएको थियो ?
आफ्नो व्यवसाय गर्दा खेरी महिलाहरुलाई धेरै नै चुनौतिहरु छन । सबैभन्दा पहिला त्यसको घरमा बच्चा परिवार भएको मानिसलाई बाहिर निस्कदा सबै कुरा सोधेर सबै कुरा मिलाएर हिड्नु पर्छ । महिलाहरुलाई समाजमा विश्वास पनि गर्दैन । महिलाले के गर्न सक्छ भनेर प्रश्न उठाउँछन् । अहिले पनि मानिसले भन्छन होला । श्रीमानले गरेको होला अनी उसले गरेको भन्छन भनेर प्रश्न उठाउ छन । मैले यति गर्दा प्रश्न उठाइन्छ भने मलाई त्यो एकल महिलाहरुको याद आउँछ । जसको श्रीमान छैन, जसको सम्बन्ध विच्छेद गरेर एकल भएर पनि आफ्नो बच्चाहरुलाई हुर्काइ राखेका छन् । उनीहरुलाई सम्मान गर्न मन लाग्छ । मेरो श्रीमान र परिवारको साथ सहयोगले गर्दा मलाई यति धेरै चुनौति छ भने ती एकल आमाको कस्तो अवस्था होला । कसरी उहाँहरुले आफ्नो बच्चाको पालन पोषण गर्नु भएको होला । काम गर्दा यस्तो चुनौति आउदो रहेछ ।
चुनौतिको समाधान गर्नलाई कसको सहयोग आवश्यक पर्छ ?
कसैले साथ दिनु भन्दा पनि पहिला आफै सक्षम हुनु पर्छ । आफ्नै योजना हुनुपर्छ किनभने उनीहरुले आफैले गर्ने हो । मैले टोलमा महिला समूह गठन गरिरहेको छु । आफ्नै वरिपरी ३० जना महिलालाई जम्मा गरेर उहाँहरुलाई चाहिने सीपमा आफैले दिने योजना बनाएको छु । संघ–संस्थाहरुले कति तालिम दिए पनि कुनै रेकर्ड छैन । करोडौं लगानी सरकारले गरे पनि सीपमूलक तालिममा प्रमाण पत्र दियो । तर के गरिरहेका छन् भन्ने हेर्न गइदैन । तालिम दिएको व्यक्तिहरु कहाँ छन् । कस्तो अवस्थामा छन् । के गरिरहेका छन्कुनै जानकारी राख्दैनन् । राम्रोसंग सक्षम तरिकाले त्यसको आवश्यकता अनुसारको सीप पनि दिदैन ।
व्यवसाय गर्ने महिला दिदीबहिनीहरुलाई के भन्नु हुन्छ ?
व्यवसाय गर्न गाह्रो छ आज बजारमा प्रतिस्पर्धा छ । कालो बजारी छ, उधारोको व्यपार छ । लगानी गर्नलाई सानो कुरा छैन । के गर्ने कसरी गर्ने कहाँ लाने त्यो सबै समस्या छ नि त । यो सबै कुराको लागि धर्यता राख्नु प¥यो । आजको आजै पारिश्रम पाउनलाई मजदुरी गर्नै पर्छ । एक महिना पछि परिश्रम पाउनको लागि जागिर खान जानु पर्छ । यो । उधोग व्यवसायको रिजल्ट आउनलाई ५ वर्ष लाग्छ ।
नेतृत्व के रहेछ ?
आफ्नो भित्र रहेको बौदिकत्वलाई बाहिर देखाउन नै नेतृत्व रहेछ । आफू भित्र भएको क्षमतालाई बाहिर बजारमा ल्याउनु नै नेतृत्व हो । यसको लागि जोशजागर हुनु पर्छ । मेहनत पनि गर्नु पर्छ ।
वीरगंजमा कति उद्यमीहरु छन ?
यहाँ प्रत्यक्ष अप्रत्यक्ष लुकेर उद्योग प्रत्येक घर घरमै छ । तर यहाँ कत्ति उद्योगहरु देखिएको छ कत्ति देखिएको छैन । कति महिलाहरु अगाडी आउन नि चाहदैन । अब यो समाज पनि त्यस्तै छ बाहिर निस्किसकेको महिलालाई नराम्रो नजरले हेर्ने । मधेशमा महिलालाई हेर्ने नजरीया पनि फरक छ । घरबाट बाहिर जाने महिला राम्रो होइन । त्यसै कारणले धेरै महिला भित्रै बस्छन । श्रीमतिको नाममा संचालन गरेको उद्योगहरु पनि धेरै छ । तर त्यो महिलाहरु अहिले सम्म बाहिर निस्कन पाएको छैन । सरह बजारकै अवस्था यस्तो छ ।
महिला उद्यमीलाई तथ्याङ्कमा ल्याउनलाई के गर्नुपर्छ ?
सरकारले तथ्याङ्क संकल्न गर्नुपर्छ । वीरगंज महानगरपालिकामा भएका उद्यमीहरुलाई अहवान गर्नुपर्छ । सफल उद्यमीलाई पुरस्कृत गर्दैछौं । त्यसपछि त्यहाँ भिड लाग्न सक्छ । नेतृत्व तहमा बस्नेहरुले कहिले पनि खोजी गरेको छैनन् । तथ्याङ्क संकल्न कसले गर्ने त । यहाँ मात्र दोष लगाउने चलन छ । संकलन गर्ने कुनै एउटा रणनीति पनि बनेको छैन । जति दर्ता भयो त्यो दर्तामै सिमित छ । दर्ता भएको कसले के गरिरहेको छ । हाम्रो कुनै पनि रेर्कड छैन । आज करोडौं लगानी महिलाको सिपमा, शिक्षामा लगानी गरेको छ । तर त्यसको रिजल्ट कस्तो छ भने कहिले पनि मुल्याकङ्न हुदैन ।
महिलाको सम्मान कसरी हुन्छ ?
केही गरेको महिलालाई बेला बखतमा विज्ञापन ख्ुलोस् । प्रतिस्पर्धा होस् । त्यहाँ राजनीतिमा भएको मानिसहरु नछिराइयोस् । आफ्नो मानिस भनेर नछिराइयोेस् । खुल्ला प्रतिस्पर्धा गराउनु पर्छ । जुन महिला सक्षम हुन्छ उनीहरुको फाइल लुकाइन्छ । अनि जसको राजनीतिकमा पहुँच हुन्छ उनीहरुनै सम्मानित हुन्छन् । हाम्रो मधेश प्रदेशमा प्रविधिको लागि २ लाख रुपैयाँ छुटयाइएको थियो । हाम्रो पत्रिकामा नाम पनि निकल्यो । हामीले प्रविधि किन्नको लागि लगानी पर्यो । हामीले सबै कुरा गरेपछि पनि हाम्रो आउने जुन पैसा थियो त्यो आएन । हामीले खोजी गर्न जाँदा त्यो फाइल नै हराएको पाए । त्यहाँ एकदम झुटको खेती हुदोरहेको छ । आफ्नो काम गराउनको लागि कमिसन दिनुपर्छ भनेर मलाई थाह थिएन ।