तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंको बयान लिन सुरु गरिएको छ। काठमाडौंको बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराएर सोमबारदेखि प्रसाईंको बयान लिने कार्य प्रारम्भ गरिएको हो।
सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले समय अभावका कारण सोमबार थोरै समय बयान लिइएको भए पनि मंगलबारदेखि फेरी पूर्णरूपमा बयान लिने कार्य अगाडि बढाइएको जानकारी दिए।
काफ्लेले अनुसार, “प्रसाईंविरुद्ध विविधि कसुरमा बयान लिने काम भइरहेको छ। ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको राजद्रोह तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दाहरूमा अनुसन्धान भइरहेको छ।”
प्रहरी स्रोतका अनुसार तीनकुनेमा भएको प्रदर्शनका क्रममा ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई मार्ने नियतले प्रसाईंले आफैंले चलाएको गाडीले पेल्दै अगाडि बढाएको प्रमाणस्वरूप भिडियोसमेत सार्वजनिक भएको छ। सोही आधारमा ‘ज्यान मार्ने उद्योग’ अन्तर्गतको मुद्दालाई सबैभन्दा बलियो मानिएको छ।
प्रसाईंविरुद्ध प्रारम्भमा राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको अभियोगमा म्याद लिइएको थियो भने अन्य कसुरहरू थपिँदै गएका छन्। पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको घटनाका मुख्य योजनाकारको रूपमा चिनिएका प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए। उनलाई २९ चैतमा काठमाडौं ल्याई जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ।
झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय प्रसाईं पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गरिरहेका थिए। यसै अभियान अन्तर्गत काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर १५ चैतमा तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक बनेको थियो।
प्रदर्शनका क्रममा घर, पसल, सवारी साधनमा तोडफोड र आगजनी भएको थियो। प्रहरी र सर्वसाधारणबीच झडप भएपछि गोली चलेको थियो। हालसम्म ८४ जना पक्राउ परिसकेका छन्। राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणा र भाटभटेनीका केही कर्मचारीलाई भने अनुसन्धानका क्रममा हिरासत मुक्त गरिएको छ, तर उनीहरूमाथि पनि मुद्दा दायर गर्ने तयारी भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ।